रामेछाप । मंसिर २८ गते,
शुक्रबार बिहानैदेखि मौसममा भएको बदली र वर्षापछि रामेछापको उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपात र वर्षाले कतिपय क्षेत्रमा यातायात समेत प्रभावित भएको छ । उमाकुण्ड गाउँपालिकाको गुम्देल, वाम्ती, कुभुकास्थली, प्रिती र गुप्तेश्वर क्षेत्रमा बाक्लो हिमपात भएको छ।
वाम्तीको देउराली, गुम्देलको सेर्दिङ, रस्नालु र गुप्तेश्वरको तामेडाडाँमा केही वर्षयताकै बाक्लो हिमपात भएको हो। यसैगरी गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालु र बेतालीको माथिल्लो भेगमा हिउँ झरेको छ। दोरम्बा गाउँपालिकामा पर्ने शैलुङमा ३ फिटसम्म हिउँ जमेको स्थानीय दावाशङ्बु शेर्पाले बताए। डडुवा र गौश्वारामा बाक्लो हिउँले जनजिवन कष्टकर छ। शैलुङ र वाम्तीतर्फका सडकहरुमा यातायात साधन अवरुद्ध भएका छन। शनिबार बिहानसम्म पानी पर्ने क्रम अझै रोकिएको छैन। सिमसिम पानी परिरहेकाले सदरमुकाम मन्थलीमा पनि अत्याधिक चिसो बढेको छ । त्यसैगरी जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा पनि अत्याधिक चिसो बढेको छ । हिमपातका कारण जिल्लाको उच्च लेकाली क्षेत्रमा वसोवास गर्ने नागरिकहरुलाई अत्याधिक चिसोका कारण घर वाहिर निस्कन कठिनाई भएको छ ।
रामेछापको उच्च लेकाली क्षेत्रमा बाक्लो हिमपात भएपछि जनजीवन कष्टकर
- प्रकाशित मिति: शनिबार, मंसिर २८ २०७६
- तामाकोशी