पश्चिमी वायुको प्रभावले अत्याधिक चिसो बढेसँगै रामेछापको जनजीवन प्रभावित

  • प्रकाशित मिति: शुक्रबार, मंसिर २७ २०७६
  • तामाकोशी

रामेछाप । मंसिर २७ गते,
देशभर जस्तै रामेछापमा चिसो ह्वात्तै बढेको छ । शुक्रबार बिहानबाटै हुस्सु सहितको पानी परेसँगै अत्याधिक चिसोका कारण जनजीवन कष्टकर बनेको छ । जिल्लाको उमाकुण्ड गाउँपालिकाका अन्तर्गत गुम्देल, चुचुरेको देउराली, वाम्ती, प्रितीको लाप्चाने र ठोसे त्यस्तै दोरम्वा गाउँपालिकाको शैलुङ्ग, दोरम्वा र गौश्वारा लगाएतको स्थानमा पानी परेपछि अत्याधिक चिसो बढेर जनजीवन कष्टकर भएको छ । जिल्लाको उच्च लेकाली क्षेत्रमा वसोवास गर्ने नागरिकहरुलाई अत्याधिक चिसोका कारण घर वाहिर निस्कन कठिनाई भएको छ । बुधबार सम्म समान्य रहेको मौसम विहिबारबाट परिवर्तन भै शुक्रबारदेखी सिमसिम पानी परेपछि सदरमुकाम मन्थलीमा पनि अत्याधिक चिसो बढेको छ । त्यसैगरी जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा पनि अत्याधिक चिसो बढेको छ ।
यस्तै दोलखाको पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोक क्षेत्रमा हिमपात सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्रमा शुक्रबार बिहानदेखि नै हिउँ परिरहेको छ । जिल्लाको उच्च भेगमा हिमपात भइरहेको छ भने सदरमुकाम चरिकोट आसपासमा सिमसिम पानी परिरहेको छ । जसका कारण चिसो बढ्दा स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ । विशेषगरी शुक्रबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने दोलखामा हिमपात भएपछि पर्यटकको संख्यामा वृद्धि हुने होटल व्यवसायी बताउँछन् । काठमाण्डौबाट १ सय ३३ किलोमिटर यात्रापछि चरिकोट र चरिकोटबाट १७ किलोमिटर यात्रापछि कालिञ्चोक क्षेत्र पुग्न सकिन्छ ।