काठमाडौं : कोहलपुर घटनाको विरोधमा नेपाल विद्यार्थी संघ नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो । नेविसंघ काठमाडौं जिल्ला समितिले गरेको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोधमा चर्को नारावाजी समेत गरेका थिए ।
नेविसंघले कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार र विद्यालय पोशाकमा भएका विद्यार्थीहरुमाथि गोली चलाउन आदेश दिने गृहमन्त्री रामबहादुर थापाको राजिनामा माग गरेको छ।
पशुपति क्याम्पसबाट सुरु भएको विरोध ¥याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको थियो । आइतबार कोहलपुरमा प्रहरीले बल प्रयोग गर्दा २५ भन्दा बढी विद्यार्थी घाइते भएका थिए ।