रामेछापको प्रिति उपनिर्वाचनमा जम्मा ६७ प्रतिशत मत खस्यो

  • प्रकाशित मिति: शनिबार, मंसिर १४ २०७६
  • तामाकोशी

रामेछाप । मंसिर १४ गते,
रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रितिको वडाअध्यक्ष पदको लागि शनिबार भएको उपनिर्वाचनमा शान्तिपुर्ण रुपमा मतदान भएको छ । कुल १ हजार ७ सय ४८ मतदाता रहेको सो मतदान केन्द्रमा १ हजार १ सय ७२ मत खसेको छ । जम्मा खसेको मतलाई हेर्दा ६७ प्रतिसत मात्रै मत खसेको छ । विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । मतदान केन्द्रबाट मतपेटीकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयलमा पुर्याएर मतगणना गर्ने तयारी भई रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस अघि भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट कुवेर खत्री वडा अध्यक्षमा निर्वा्िचत भएका थिए । तर डेढ बर्ष अघि खत्रीको निधन भएपछि शनिबार उक्त वडामा निर्वाचन भएको हो । उपनिर्वाचनमा नेकपाबाट कुलबहादुर बस्नेत, कांग्रेसबाट सावित्री सुनुवार, समाजबादी पार्टीबाट राजकुमार सुनुवार र राप्रपा संयुक्तबाट हर्क बहादुर तामाङ उम्मेदवार रहेका छन् ।