रामेछाप । असोज ३ गते,
आज असोज ३ गते संविधान दिवस रामेछापमा पनि प्रभातफेरी , झंडोत्तोलन सहित विभिन्न कार्यक्रम गरि मनाइएको छ । संविधान दिवस जिल्ला स्तरीय मुल समारोह समितिको आयोजना शुक्रबार विहान ७ बजे मन्थली माध्यामिक विद्यालयबाट प्रभावतफेरी सुरु भएको थियो । संविधानसभा सदस्य तारानारायण श्रेष्ठ, प्रदेश नं ३ का सांसद शान्ति प्रसाद पौडेल , समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का , मन्थली नगरपालिकला प्रमुख रमेश कुमार बस्नेत , विभिन्न जननिर्वा्चित प्रतिनिधिहरु , रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी , जिल्ला स्थित विभिन्न राजनीतिक दलहरुको प्रमुख एवं प्रतिनिधि , जिल्ला स्थित सरकारी कार्यालयहरुमा कार्यरत कर्मचारीहरु ,विभिन्न गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधि , नागरिक समाज , विभिन्न सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु ,पत्रकार ,मन्थली बजार बासी व्यवसायीहरुको समेत प्रभात फेरीमा सहभागिता रहेको थियो । 
प्रभातफेरीको क्रममा देवकोटा चोकमा संविधानसभा सदस्य तारानारायण श्रेष्ठले झंडोत्तोलन गरेका थिए । प्रभातफेरी पश्चात जिल्ला समन्वय समिति रामेछापको प्राङगणमा एक सभाको आयोजना गरिएको थियो । संविधान दिवस जिल्ला स्तरीय मुल समारोह समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षता र पुर्व सांसद एवं नेकपाका केन्द्रीय सदस्य देवशंकर पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै पुर्व सांसद एवं नेकपाका केन्द्रीय सदस्य पौडेलले वर्तमान संविधान उत्कृष्ट संविधान रहेकाले यसको कार्यान्वयनमा सवै लाग्नुपर्ने बताए । उनले संविधान कार्यान्वयका क्रममा केहि कमिकमजोरी भेटिए त्यसलाई चिर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए । 
संविधानसभा सदस्य तारानारायण श्रेष्ठले देशको इतिहासमैं पहिलो पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट जारी भएको वर्तमान संविधान विश्वकै नमूना रहेको बताए । उनले सरकारको राम्रो काम नदेख्ने र केहि सानो कमजोरी देखिए नेता तथा सरकारलाई गाली गर्ने परिपाटी सुरु भएकाले यस्ता परिपाटी मुलुकको विकासको वाधक बन्ने बताए । कार्यक्रममा नेकपाका नेता आनन्द श्रेष्ठ, नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्की , प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी र पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । २०७२ असोज ३ गते घोषणा गरिएको संविधानले २०६३ पौष १ गते तत्कालिन ने.क.पा. माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापित गरिदिएर पूर्ण संविधान जारी गरिएको थियो । सबैतिर दिपावली गरी संविधान दिवस मनाउँका लागि असोज ३ गते शुक्रबार सरकारले सार्वजनिक विदा दिएको छ ।
संविधान दिवस रामेछापमा प्रभातफेरी, झंडोत्तोलन सहित विभिन्न कार्यक्रम गरि मनाइयो
- प्रकाशित मिति: शुक्रबार, असोज ३ २०७६
- तामाकोशी