काठमाडौं । साउन २४ गते,
विभिन्न आपराधिक कार्यमा संलग्न भएको आरोप लागेका रामेछापका लोप्साङ भनिने मिलन तामाङ पक्राउ परेका छन् । उनलाई पक्रने क्रममा प्रहरीले गोली समेत चलाउनु परेको छ । काठमाडौंको विजेश्वरी हाउजिङको झिंगु क्याफेबाट लोप्साङलाई प्रहरीले पक्रेको हो । उनलाई घुँडामुनी गोली हानेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागि घाइते भएका लोप्साङको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी हपराध महाशाखाको वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । उनीसँगै अमृत तामाङ पनि पक्राउ परेका छन् । रामेछाप घर भएका लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको प्रहरीको दावी छ । टेलिफोनबाट गाउँपालिका अध्यक्षलाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिएको आरोप तामाङलाई लागेको छ । तामाङले लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई राजधानीमै बसेर धम्की दिँदै आएको प्रहरीले बताएको छ । लामालाई खोज्दै स्वयम्भूको विजेश्वरी हाउजिङको झिंगु क्याफेमा पुगेको प्रहरी टोलीले लामासहित अमृत तामाङलाई पनि पक्राउ गरेको थियो । तामाङ उनको सहयोगी भएको जनाइएको छ । लामाले यसअघि लिखु हाइड्रो कम्पनीका कमल कडरियासँग ३० लाख रुपैयाँ पनि उस्तै शैलीको प्रयोगबाट लिइसकेको खुलेको छ । त्यस्तै, रामेछापका ग्याल्बो ठेकदारबाट २० लाख रुपैयाँ लिएको भेटिएको छ । उनले तेस्रो प्रयासस्वरुप गाउँपालिका अध्यक्षलाई धम्क्याएको जनाइएको छ ।
लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्कालाई धम्की दिनेलाई प्रहरीले गोली ठोक्यो
- प्रकाशित मिति: शुक्रबार, साउन २४ २०७६
- तामाकोशी