सिन्धुली । जेठ २० गते,
प्रदेश सरकारको सहयोगमा सिन्धुली जिल्लाको विभिन्न स्थानीय तहमा कृषकलाई आय आर्जनमा सघाउन यो बर्ष १२ वटा कृषि सडक निर्माण कार्य सुरु भएको छ । स्थानीयस्तरमा यातायातको पँहुच र्पुयाई कृषकले उत्पादन गरको कृषि उपजलाई बेचबिखनमा सहयोग र्पुयाउने उद्देश्यले प्रदेश सरकारको तीन करोड ८१ लाख रुपैया सहयोगमा ती कृषि सडक निर्माण थालिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार स्थानीय उपभोक्ता समितिमार्फत यि सडकअहिले धमाधम निर्माण भई रहेको छ ।
प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १५ दिने सूचना निकालेर प्रस्ताब माग गरेकोको १९ वटाले पेश गरेका थिए । मन्त्रालयकै कर्मचारीको टोलीले स्थलगत अध्ययन गरि १२ वटा साना कृषि सडक निर्माण तथा मर्मतका लागि छनौट गरेको हो । केन्द्रका प्रमुख राजन ढकालले गत बैशाख १३ गते स्थानीय उपभोक्तासँग सम्झौता गरेपछि अहिले यी कृषि सडक निर्माण कार्य तीब्र रुपमा भई रहेको बताए ।
ग्रामीण सडक नभएको ठाँउ, सडककै अभावमा कृषकले यान्त्रीकरण गर्न नपाएको ठाँउ र कृषकको उत्पादनलाई बजारिकरण गर्न मुख्य सडकसँग जोड्ने गरी यि कृषि सडक निर्माण गरिएको उनको भनाई छ । कमलामाई नगरपालिकामा चार वटा, दुधौली नगरपालिकामा चार वटा, गोलान्जोर गाँउपालिकामा दुई वटा र ध्याङलेख गाँउपालिकामा दुई वटा कृषि सडक निर्माण भएका छन् । केन्द्रका अनुसार कमलामाई नगरपालिकाको वडा नं. २ मा ३० लाख रुपैयाको लागतमा निपानेदमार –डुडखोला–तीनतले–खयरसाल–मछेनी सडक, वडा नं. ७ मा ३१ लाख रुपैयाको लागतमा चुवारदेवीस्थान– थाक्लेफेदी सडक, वडा नं. ८ मा २६ लाख रुपैयाको लागतमा तीनतले माईशिर हुदै गोठखोलासम्मको सडक र वडा न ११ मा ३१ लाख रुपैयाको लागतमा फिटिङ– भिरगाँउ – तेर्सेखड्कुले सडक धमाधम निर्माण भई रहेको छ । त्यस्तै दुधौली नगरपालिकाको वडा नं. २ मा ४९ लाख रुपैयाको लागतमा रतनपुर बसनियादेखि तल्लो भलुवाही सडक, वडा नं. ५ मा ३१ लाख रुपैयाको लागतमा मझौरामिल–रातमाटे रिठ्ठे औल–गुम्बा सडक, वडा नं. १० मा ३१ लाख रुपैयाको लागतमा खत्रीचौर–धौले–मनवा सडक र वडा नं. १२ मा ३१ लाख रुपैयाको लागतमा जिनाखु चियावगन–फिक्कल दमार सडक निर्माण भई रहेको छ ।
कृषकलाई आयआर्जनमा सघाउन सिन्धुलीमा १२ वटा कृषि सडक निर्माण हुदै
- प्रकाशित मिति: सोमबार, जेष्ठ २० २०७६
- तामाकोशी