निर्मला पन्तका हत्यारा मरेका छैनन – हत्यारा पत्ता लगाउन ‘अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता’ बोलाउँछु : प्रधानमन्त्री ओली

  • प्रकाशित मिति: आइतबार, पुष १५ २०७५
  • तामाकोशी

काठमाडौं । पाँच महिना अघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । तर, हालसम्म दोषी पक्राउ पर्न नसकेपछि सरकारको कडा आलोचना मात्रै भएको छैन, प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उठेको छ । निर्मलाको न्यायका लागि भन्दै सडक प्रदर्शन तथा अनशन समेत भइरहेका छन् । यही बेला सरकारले निर्मलाको हत्या पत्ता लगाउन अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता बोलाउने प्रतिबद्धता जनाएको छ ।

नेकपाको स्थायी कमिटी बैठकमा सो पार्टीको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अन्तरराष्ट्रिय अनुसन्धानकर्ता’लाई बोलाएर भए पनि निर्मला पन्तका हत्यारा पत्ता लगाएरै छाड्ने प्रतिबद्धता जनाएको बताइएको छ ।



नेकपाको बैठकमा निर्मला पन्तको घटनालाई लिएर गृह प्रशासनको क्षमतामाथि प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले यसलाई गम्भीरतापूर्व लिएको बताइएको छ । गएको साउन १० गते साथीको घर गएकी निर्मला भोलिपल्ट साउन ११ गते उखुबारीमा बलात्कारपछि हत्या भएको अवस्थामा मृत फेला परेकी थिइन् ।