प्रस्तावित प्रधानन्यायाधीश मिश्रको संसदीय सुनुवाई सोमबार

  • प्रकाशित मिति: शुक्रबार, भाद्र २२ २०७५
  • तामाकोसी खबर

काठमाडौं । भदौ २२ गते,
प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानयायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाई आगामी सोमबार हुने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले प्रधानन्यायधीश मिश्रको सुनुवाई २५ गते सोमबार गर्ने निर्णय गरेको हो । बैठकले आगामी आइतबार प्रधानन्यायाधीशमा प्रस्तावित मिश्र उपर उजुरी दिएका उजुरीकर्ताहरुहरुलाई छलफलको लागि बोलाएको छ । जम्मा ४ वटा उजुरी परेकोमा एउटा उजुरी उजुरीकर्ताले नै फिर्ता लिन चाहेपछि फिर्ता गरिदिने निर्णय पनि बैठकले गरेको बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य लक्षमण लाल कर्णले जानकारी दिए ।
संवैधानिक परिषदले भदौ ७ गते सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाईं प्रधान्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकृत गरेपछि संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरे राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । यसैबीच बैठकले सबैधानिक परिषद्बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नवीनकुमार घिमिरेमाथि सार्वजनिक उजुरीको आव्हान गरेको छ । भोलिदेखि लागू हुने गरी १० दिन भित्र उजुरी दर्ता गराउन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय बैठकले गरेको जेष्ठ सदस्य कर्णले जानकारी दिए ।