मन्थली नगरपालिकाको ८ वडा कार्यालय सदरमुकामबाटै सञ्चालन

  • प्रकाशित मिति: बुधबार, भाद्र ६ २०७५
  • तामाकोसी खबर

रामेछाप । भदौ ६ गते,
रामेछापका नागरिकहरुले जनप्रतिनिधिहरु आएको डेढ वर्ष बितिसक्दा पनि अहिलेसम्म गाउँमा वडा कार्यालय देख्न पाएका छैनन् । स्थानीय तहमा जनप्रतिनिधि आएको पनि डेढ वर्ष वितिसकेको छ । अहिलेसम्म मन्थली नगरपालिकाका ८ वटा वडा कार्यालयहरु अझै पनि जिल्ला सदरमुकाम मन्थलीबाट नै सञ्चालित छन् । जसले गर्दा नागरिकहरुले आफ्नो वडा कार्यालय गाउँमा देख्न समेत पाएनन् । साविकका गाविसका कार्यालयहरु जिल्ला सदरमुकामबाट सञ्चालन हुँदै आएको भन्ने नेता तथा जनप्रतिनिधिहरुले वडा कार्यालय सम्बन्धित गाउँमा खोलेर नागरिकलाई सहज तरिकाले सेवा दिन सकेका छैनन् । जिल्लाको सबैभन्दा ठूलो १४ वटा वडा कार्यालय रहेको मन्थलीमा ६ वटा वडा कार्यालय मात्रै सम्बन्धित वडामा कार्यालय सञ्चालनमा छन् । बाँकी ८ वटा वडा कार्यालयहरु भने अहिलेसम्म गाउँ फर्किएनन् । केही वडा कार्यालयहरु वडा अध्यक्ष र केही वडा सदस्यहरुको घरबाट सञ्चालन हुँदै आएका छन् ।
वडा कार्यालय गाउँमा नहुँदा सेवाग्राहीहरु हजारौ रुपैयाँ खर्चेर सदरमुकाम धाउन बाध्य छन् । निर्वाचन जितेर गाउँमै कार्यालय स्थापना गरेर सेवा दिन्छु भन्ने नेताहरु अहिले जिल्ला सदरमुकाममा नै कार्यालय खोलेर बसेकाले नागरिकहरुको दुःख त्यस्तै रहेको मन्थली वडा नं १३ फुलासीकी मनमाया खड्काले बताइन् । ‘गाउँका नेताले जितेर गाउँमै वस्लान, हामीजस्ता नागरिकलाई सेवा देलान् भनेर चुनावमा भोट दियौं । तर चुनाव जितेर गएदेखी न नेता देखेका छौं नत गाउँमै सेवा पाएका छौं ।’ उनले भनिन्, ‘गाउँमै पाउने सेवा लिन सदरमुकाम जानुपर्दा आवतजावत गाडी भाडा मात्रै ४ सय रुपैयाँ तिर्नुपर्छ । एकै घरको दुईतिन जना मानिस जानुपर्दा त ४÷५ हजार नै खर्च हुन्छ ।’
जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई पटक पटक सम्वन्धित वडा कार्यालयमा नै कार्यालय सञ्चालन गरेर सेवा दिन अनुरोध गर्दा पनि जनप्रतिनिधिहरुले नटेरेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त न्यौपानेले जानकारी दिए । ‘हामीले हाम्रा माताहतका जनप्रतिनिधि र कर्मचारीहरुलाई गाउँमै गएर सेवा दिनुस् भनेका छौं । तर उहाँहरुले अहिलेसम्म टेर्नु भएको छैन् ।’ उनले भने, ‘यो विशुुद्ध राजनितिक बिषय भएकाले प्रशासन तर्फ मैले केही गर्न सकेको छुइन ।’
नयाँ पत्रिकाबाट सभार