मन्थली नगरपालिकालाई समृद्ध बनाउन महत्वपुर्ण कदम चालिन्छ : नगरप्रमुख बस्नेत

  • प्रकाशित मिति: शनिबार, साउन १९ २०७५
  • तामाकोसी खबर

रामेछाप । साउन १९ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले नगरलाई विकासको समृद्धिमा पुर्याउन आफुहले महत्वपुर्ण कदमहरु चाल्दै गएको बताएका छन् । शनिबार रेडियो तीनलालसंग कुरा गर्दै नगरप्रमुख बस्नेतले नगर भित्रको सडक पुर्वाधारलाई व्यवस्थित बनाउने , शिक्षामा सुधार गर्ने , र ग्रामिण कृषिलाई व्यावसायिकीकरण गर्ने जस्ता कामहरु आफ्नो मुख्य एजेण्डा भएको बताए ।
निर्वाचित भएको १५ महिनाको यो अवधीमा नगरपालिका आफ्नै भवनबाट संचालन भएको , नगरभित्रका स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको , सदरमुकाम स्थित बसपार्क नजिकै सपिङ कम्प्लेक्स निर्माणको अन्तिम चरणमा पुगेको र घरेलु तथा साना उद्योग संचालनका लागि सिप प्रविधि हस्तान्तरणको काम समेत अगाडी बढाएको उनले बताए । आफ्नो ५ बर्षे कार्यकालभित्र मन्थली नगरपालिका समृद्धिको बाटोमा हिडेको देख्न सकिने उनको भनाई छ । नगरप्रमुख बस्नेतले मन्थली नगरवासीलाई स्थानीय सरकारको पुर्ण प्रत्याभुति दिलाएरै छाड्ने बताए ।