नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किने

  • प्रकाशित मिति: शनिबार, साउन १९ २०७५
  • तामाकोसी खबर

काठमाडौं । साउन १९ गते,
एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्न नेदरल्याण्ड्स गएको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किने भएको छ । २ वटा एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्न गएको टोली श्रृङ्खला बराबरी गर्दै फर्कन लागेको हो । पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोस्रो खेल १ रनको रोमाञ्चक जितका साथ श्रृङ्खला बराबरी गरेको थियो । गएको साउन २ गते इङ्ल्याण्डको लर्ड्समा भएको त्रिकोणात्मक श्रृङ्खला तथा नेदरल्याण्ड्समा भएको एकदिवसीय क्रिकेट श्रृङ्खला खेल्न नेपाल लण्डन पुगेको थियो । त्यहाँ चार वटा अभ्यास तथा त्रिकोणात्मक श्रृङ्खला खेलेर नेपाली टोली नेदरल्याण्ड्स पुगेको हो ।
नेपाली टोलीका सबै सदस्य भने सँगै नआउने भएका छन् । क्यारेबियन प्रिमियर लिग खेल्न युवा बलर सन्दीप लामिछाने उतैबाट जाने भएका छन् । क्यारेबियन प्रिमियर लिगमा ५ वटा खेल खेलेर सन्दीप मलेसियामा हुने एशियाकपको छनौट खेल्न उतैबाट मलेसिया आउने बुझिएको छ ।