विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

  • प्रकाशित मिति: शनिबार, असार २० २०८३
  • तामाकोशी

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकपको इतिहासमा अर्को स्वर्णिम अध्याय थप्दै लगातार आठ विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
केप भर्डेविरुद्ध अन्तिम १६ प्रवेशका लागि भएको खेलमा गोल गर्दै मेसीले यो दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। उनको यो गोलसँगै विश्वकपमा व्यक्तिगत गोल संख्या २० पुगेको छ भने २०२६ विश्वकपको गोल्डेन बुट दौडमा पनि उनी शीर्ष स्थानमा उक्लिएका छन्।
मेसीको यो ऐतिहासिक गोल यात्रा सन् २०२२ को विश्वकपबाट सुरु भएको थियो। उनले अष्ट्रेलियाविरुद्ध गोल गरेपछि नेदरल्यान्ड्सविरुद्ध एक गोल र एक असिस्ट, क्रोएसियाविरुद्ध एक गोल र एक असिस्ट तथा फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरेका थिए।
त्यसयता २०२६ विश्वकपमा पनि उनको उत्कृष्ट प्रदर्शन जारी छ। उनले अल्जेरियाविरुद्ध ह्याट्रिक, अष्ट्रियाविरुद्ध दुई गोल, जोर्डनविरुद्ध एक गोल र पछिल्लो खेलमा केप भर्डेविरुद्ध गोल गर्दै लगातार आठ विश्वकप खेलमा गोल गर्ने इतिहास रचेका हुन्।
३९ वर्षको उमेरमा पनि मेसीले विश्व फुटबलमा आफ्नो प्रभाव कायम राख्दै नयाँ–नयाँ कीर्तिमान बनाइरहेका छन्। लगातार आठ विश्वकप खेलमा गोल गर्ने उनको उपलब्धिलाई आधुनिक फुटबलको सबैभन्दा दुर्लभ र असाधारण व्यक्तिगत कीर्तिमानमध्ये एकका रूपमा हेरिएको छ।