ओखलढुंगा । साउन १४ गते,
खाद्य संस्थानले विक्रि गर्ने सुलभ मूल्यको चामल विक्रि हुन छाडेपछि गोदाममै थान्किएको छ । व्यापारीहरूले सुलभ मूल्यमा गाउँगाउँमै चामल पुर्याउन थालेपछि नेपाल खाद्य संस्थानको शाखा कार्यालयले ओखलढुंगामा बितरण गर्दै आएको चामल बिक्न छाडेको हो । संस्थानको चामल बिक्री हुन छाडेपछि गोदाममै थन्किएको छ । संस्थानले यसवर्ष चामलको मुल्य समेत बढाएको छ । अहिल्लो आर्थिक बर्षको तुलनामा यसबर्ष प्रति क्विन्टल १ हजार ७० रूपैयाँले मूल्य बढाएर ४ हजार २ सय रूपैयाँ प्रति क्विन्टल पुर्याएको छ । नेपाल खाद्य संस्थान शाखा कार्यालय ओखलढुंगाका निमित्त प्रमुख प्रदीपकुमार कापडीका अनुसार तराईबाट चामल खरिद गरेर ल्याउनुपर्ने र यसबर्ष चामलको कुटानी खर्च समेत महँगो परेकाले मूल्य बढाइएको जानकारी दिए ।
सरकारले बितरण गर्ने संस्थानको चामलमा मूल्य बृद्धि, बजारमा उधारो कारोबार हुने भएकाले खाद्य संस्थानको चामलमा उपभोक्ताहरुको आकर्षण घटेको हो । केहिवर्ष पहिलेसम्म संस्थानमा चामल लिनेको लाइन लाग्ने गरेको भएपनि अहिले भने घट्दै गएको छ । यसवर्ष ८ सय क्विन्टल चामल ठेक्का लागेकोमा खाद्य संस्थानले साढे ५ सय क्विन्टल चामल मात्र बिक्री गरेको छ । अघिल्लो आर्थिक वर्षमा ८ सय क्विन्टल चामल बिक्री भएको थियो । ओखलढुंगामा बिक्री हुने खाद्य संस्थानको चामलमध्ये करिब १ सय ४४ क्विन्टल चामल बर्से्िन जिल्ला कारागार कार्यालयमा खपत हुने गरेको छ । जिल्लाका ग्रामिण भेगहरु स्थानिय सरकार गठनपछि सडक सञ्जालले जेलिएसंगै ब्यापारीहरुले गाँउमै चामल पुर्याउन थालेका छन् । उधारोमै गाउँघरमै चामल पाउने भएपछि संस्थानको चामल बिक्री हुन छाडेको संस्थानका शाखा प्रमुख कापडीको भनाइ छ ।