रामेछाप। जेठ २८ गते
रामेछाप जिल्लामा वर्षेनी महिलामाथि हुने घरेलु हिंसाका घटना वृद्धि हुदै गएको पाइएको छ । इन्सेक समेत आवद्ध रहेको मानवअधिकार संरक्षण सञ्जाल रामेछापको समन्वय तथा मानवअिधकार सञ्चार प्रतिष्ठानको न्यायमा पहुँच परियोजनाको आयोजनामा सोमबार मन्थलीमा आयोजित एक छलफल कार्यक्रममा सो तथ्य सार्वजनिक गरिएको हो । 
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रहरी निरिक्षक राजकुमार थापाले महिला माथि हुने हिंसाका घटनाहरु बढ्दोरुपमा रहेको बताए । उनले चालु आर्थिक बर्षको अहिले सम्म ३४ वटा महिला हिंसाका उजुरी प्रहरीमा आएकोमा २६ वटा मिलापत्र गरिएको र २ वटा अदालत पठाइएको बताए । यसमध्य २ वटा मुद्दाको काम भैरहेको र ४ वटा मुद्दाको पीडित सम्पर्कमा नआएको प्रहरी निरिक्षक थापाको भनाई छ ।
जिल्लामा आर्थिक बर्ष २०७२÷०७३ मा २६ वटा र २०७३÷७४ मा ३४ वटा घरेलु हिंसाको घटना प्रहरीमा आएका थिए । प्रहरी निरिक्षक थापाले रामेछापमा महिला तथा बालबालिका हराउनेको सङख्या पनि बढ्दो रहेको बताए । उनले चालु आर्थिक बर्षको हाल सम्म ६२ जना महिला हराएकोमा २२ जना अझै नभेटिएको बताए । १८ जना बालिका हराएकोमा ६ जना फेला पर्न नसकेको उनको भनाई छ । आर्थिक बर्ष २०७२÷०७३ मा २९ जना महिला र ७ जना बालिका हराएका थिए भने आर्थिक बर्ष २०७३÷७४ मा ५४ जना महिला र ७ जना बालिका हराएका थिए । 
मानव अधिकार संरक्षण संजाल रामेछापका संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रले महिला तथा बालबालिकाको क्षेत्रमा जिल्लामा मानवअधिकार कर्मी र मानवअधिकार संरक्षण सञ्जालले गरेका कामहरु प्रभावकारी रहेको बताए । उनले महिला तथा बालबालिका माथि हुने हिंसाको तथ्याङकलाई हेर्दा अझै धेरै चेतनामूलक कार्यक्रम गाउँगाउँ लान आवश्यक रहेको बताए ।
महिला तथा बालबालिका कार्यालय रामेछापकी प्रमुख सत्यदेवी अधिकारीले महिला तथा बालबालिका माथि हुने अनेकौ घटनाको न्युनिकरण गर्नका लागि सरोकारवाला सबैको सहभागितामा एउटासमिति बनाउनुपर्ने बताइन् । कार्यक्रम आयोजनाको उद्देश्यको बारेमा परियोजना प्रमुख रमेश ढुँगेलले जानकारी गराएका थिए ।
रामेछापमा महिला माथिको हिँसा बढ्दो
- प्रकाशित मिति: सोमबार, जेष्ठ २८ २०७५
- तामाकोसी खबर