प्रधानमन्त्री कप: उपाधिका लागि आर्मी र एपीएफ खेल्ने

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २७ २०७५
  • तामाकोसी खबर

काठमाडौँ । जेष्ठ २७ गते, प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब खेल्ने भएका छन् । शनिवार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ९ रनले हराउँदै एपीएफले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।

वर्षाले प्रभावित शनिवारको खेलमा सुरुमा २ सय ९ रनको लक्ष्य पाएको नेपाल पुलिस क्लवले १४ ओभर ४ बलमा २ विकेटको क्षतिमा ५९ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । झण्डै डेढ घण्टा पछि २८ ओभरमा छोट्याइएको खेलमा पुलिसलाई १ सय ४१ रनको नयाँ लक्ष्य दिइएको थियो । तर, पुलिसले २८ ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रनमात्र बनाउन सक्यो ।



पुलिस क्लबका लागि कुशल भुर्तेलले सवैभन्दा धेरै ३० रन बनाए भने सुनील धमलाले २४, दिलिप नाथले १६, दिपेन्द्र सिंह ऐरीले १४, कप्तान मञ्जित श्रेष्ठले ११ तथा सिद्धान्त लोहनीले १० रन बनाए । बलिङतर्फ एपीएफका अमरसिंह रौतेलाले ३, कप्तान बसन्त रेग्मीले २ तथा कमलसिंह ऐरी र करण केसीले १–१ विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको एपीएफले ४८ ओभर ५ बलमा २ सय ८ रन बनाएको थियो । एपीएफका लागि अनिल साहले ४५, पृथु बास्कोटाले ४०, रोहित पौडेलले ३२, प्रदीप ऐरीले २४, सुवास खकुरेलले २१ रन बनाए । पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ र ललित राजबंशीले २ तथा ,आरिफ शेख र सुशील कंडेलले १–१ विकेट लिए ।

फाइनल खेल आइतबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ । प्रतियोगिताको उपाधि विजेताले नगद २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।