ठेकेदारले लापरबाही गरेपछि सिन्धुलीमा १९ आयोजना अलपत्र

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २४ २०७५
  • तामाकोसी खबर

सिन्धुली । जेठ २४ गते,
सिन्धुलीका विभिन्न स्थानमा निर्माण प्रक्रियामा रहेका १९ वटा आयोजना अलपत्र अवस्थामा रहेका छन् । ठेक्का भई निर्माणमा रहेका आयोजना ठेकेदारको लापरबाहीका कारण अलपत्र परेका हुन् ।
निर्माण कम्पनीहरूले समयमा काम सम्पन्न नगर्दा जिल्लाको डाँडीखहरे–मझिनी–दमार सडक, मधुटार–रातामाटा सडक हालसम्म पनि निर्माण भएका छैनन् । यस्तै गाविस भवन डुँडभञ्ज्याङ, स्वास्थ्य चौकी भवन स्वल्पाठाना, गाविस भवन झाँगाझोली रातमाटा, गाविस भवन बस्तीपुर, कोलेनिका भवन, जिल्ला प्रशासन कार्यालयको भवन, भवानी मावि तिनपाटनको भवनको निर्माण सम्झौता सकिएको लामो समय भइसक्दा पनि निर्माण सम्पन्न भएको छैन ।
यसैगरी जिल्लामा पाँचवटा पुल निर्माणको काम पनि अलपत्र छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण कमला नदीको पुल, बागमती नदीको पुल, ककुरठाकुरको पुल, खाङसाङ सोखु पुल, बादुरे पुल समयमा निर्माण सम्पन्न हुन सकेका छैनन् । पुल नबन्दा स्थानीय सास्ती खेप्न बाध्य छन् । खोलामा पुल नहुँदा बर्से्नि सो क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउन बाध्य छन् भने ज्यान नै जोखिममा पारेर आउजाउ गर्नुपर्ने समस्या छ ।
त्यस्तै खुर्कोट–घुर्मी सडकको प्रोटेक्सनको काम पाएको सुनौलो खिम्ती कन्ट्रक्सन, बिरुवा कन्ट्रक्सन प्रालि, आत्रेय जेभी कन्काई थापा जेभीले पनि काम सम्पन्न गरेका छैनन् भने ट्राफिक सुरक्षा कार्यको जिम्मा लिएको सूर्य–केएम जेभीले पनि काम गरेको छैन । करोडौं रकम लगानी गरिएका ती आयोजना निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीले समयमै काम नगर्दा अलपत्र छन् । यता जिल्ला प्रशासन कार्यालय सिन्धुलीले भने निर्माणमा ढिलासुस्ती गर्ने कम्पनी र ठेकेदारलाई कारबाहीका लागि सिफारिस गरिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाका नौवटा स्थानीय तहबाट प्राप्त विवरणअनुसार काम नगर्ने ठेकेदार कम्पनी र ठेकेदारको नाम सिफारिस गरी पठाएको छ । कार्यालयले सम्झौताअनुसार समयमा काम नगर्ने १९ वटा आयोजनाका १६ निर्माण कम्पनीलाई कारबाहीको सिफारिस गरेको हो ।
कारबाहीको सिफारिस गरिएका निर्माण कम्पनीहरूमा केएस देवीरमण जेभी, विजी निर्माण सेवा, आत्रेय निर्माण सेवा प्रालि, सुभम निर्माण सेवा, धुलीखेल शिवशम्भु–कुँवर जेभी, शिखर निर्माण सेवा, सिद्धबाबा आत्रेय नवयुग जेभी छन् । त्यसैगरी स्वच्छ निर्माण सेवा काठमाडौँ, पप्पु लुम्बिनी जेभी, गौरी पार्वती–निलगिरि नेसनल जेभी, पप्पु नेपाल प्रगति जेभी, सब उद्धार सगरमाथा जेभी, सुनौलो खिम्ती कन्ट्रक्सन, बिरुवा कन्ट्रक्सन प्रालि, सूर्य–केएम जेभी र कन्काई–थापा जेभी छन् ।
गृहमन्त्री रामबहादुर थापाले निर्माणमा ढिलासुस्ती गर्ने कम्पनी र ठेकेदारलाई कारबाही गर्नका लागि नामावली पठाउन ७७ जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि सोही अनुरुप जिल्ला प्रशासन कार्यालय सिन्धुलीले स्थानीय तहले पठाएको नामावलीका आधारमा कारबाहीका लागि सिफारिस गरिएको प्रशासनले जनाएको छ ।