मन्थली क्याम्पसद्धरा खेलकुद प्रतियोगितामा विजेता विद्यार्थीलाई पुरस्कार वितरण

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ १८ २०७५
  • तामाकोसी खबर

रामेछाप । जेठ १८ गते,
रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसले फागुन १० गतेदेखी १२ गतेसम्म संचालन गरेको खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई मेडल र प्रमाण–पत्र प्रदान गरेको छ । शुक्रबार सहायक क्याम्पस प्रमुख नारद थापाको अध्यक्षता र क्याम्पस संचालक समितिका अध्यक्ष रामचन्द्र वियोगीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी विजेता विद्यार्थीहरुलाई मेडल र प्रमाण–पत्र प्रदान गरिएको हो ।
क्याम्पसले फागुन महिनामा तीन दिन अन्तरसङ्कायगत खेलकुद प्रतियोगिता २०७४ संचालन गरेको थियो । प्रतियोगिता अन्तरगत भलिबल , ब्याडमिन्टन र सट–पट लगायत विधामा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा बोल्दै क्याम्पस संचालक समितिका अध्यक्ष रामचन्द्र वियोगीले विद्यार्थी जीवनका लागि खेलकुद निकै महत्वपुर्ण रहेको बताए । विद्यार्थीहरुको शरिर र दिमागको वृद्धि विकासका लागि खेलकुदले ठुलो रोल खेल्ने उनको भनाई छ । शरिर र दिमागलाई सधै ताजा र फुर्तिलो राख्नका लागि विद्यार्थीहरु धेरै भन्दा धेरै यस्ता प्रतियोगितामा सहभागि बन्नुपर्ने  उनको सुझाव छ ।
कार्यक्रमका अध्यक्ष एवं सहायक क्याम्पस प्रमुख नारद थापाले विद्यार्थीहरुको खेलकुद प्रतिको चाहाना बढ्दो रहेकाले क्याम्पसले आगामि दिनमा यस्ता खेलकुदका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए । उनले वर्तमान सरकारले पनि खेलकुदको विकासका लागि विगतको भन्दा झण्डै दोब्बर बजेट घोषणा गरेकाले यसले मन्थली क्याम्पसको खेलकुद विकासका लागि पनि सहयोग पुग्ने विश्वास ब्यक्त गरे । क्याम्पसका खेलकुद संयोजक ऋषि कार्कीले क्याम्पसले संचालन गर्ने यस्ता प्रतियोगिताहरुमा विद्यार्थीहरुको चासो अझ बढ्नुपर्ने बताए । उनले क्याम्पससंग आवश्यक समन्वय गरेर यस्ता प्रतियोगिताहरु संचालनका लागि पहल गर्ने बताए । क्याम्पसका स्ववियु सभापति कपिल मगरले खलकुद क्षेत्रबाट नेपालीहरुले विश्वमा नेपाललाई चिनाएको भन्दै तन मन र कर्मले खेलकुदमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे । उनले क्याम्पसले खेलकुदका यस्ता कार्यक्रमहरुलाई बढि भन्दा बढि संचालन गर्नुपर्ने बताए ।