मन्थलीमा अत्याधिक गर्मी, लस्सी, मोही लगायतका चिसो पेय पदार्थको व्यापार बढ्यो

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १० २०७५
  • तामाकोसी खबर

रामेछाप । वैशाख १० गते,
रामेछापको सदरमुकाम मन्थलीमा अत्याधिक गर्मी बढेको छ । गत वैशाख ३१ गते मध्यरातमा आएको भिषण वर्षापछि सदरमुकाम मन्थलीमा ह्वात्तै गर्मी बढेको छ । वैशाख ३१ गते यता मन्थलीमा पानी समेत परेको छैन ।
जिल्लाको विभिन्न ठाउँमा सामान्य बर्षा भएपनि मन्थलीमा बर्षा नहुँदा गर्मी अत्याधिक बढेको हो । गर्मीका कारण मन्थली बजारबासीको दैनिकी कष्टकर बन्दै गएको छ । पंखा नचलाई बस्न नसक्ने मन्थली बासीलाई पटक पटक बिजुली जाने आउने समस्याले झनै गारो बनाएको छ । मन्थलीको विहिबार मध्यान्ह्को तापक्रम ३५ डिग्री सेल्सीयस भन्दा माथि पुगेको थियो । साँझ साढे ५ बजे तापक्रम घटेर ३४ डिग्री सेल्सीयस भएको थियो । अत्याधिक गर्मी भएपछि निकै व्यस्त रहने मन्थली बजारको सडक दिउँसो खाली हुन लागेको छ ।
अत्याधिक गर्मी बढेसंगै चिसो पेय पदार्थको भने व्यापार बढेको छ । मन्थलीमा लस्सी, मोही, कुल्फी, आइसक्रिम लगायत चिसो खानेको सङख्या बढि रहेको व्यापारीहरुको भनाई छ । मन्थली बजारमा रहेका दुध डेरी तथा अन्य पसलहरुमा लस्सी , मोही र कुल्फी खानेको बिहानैदेखी घुइचो लाग्ने गरेको व्यापारीहरुको भनाई छ । बजारमा अहिले लस्सी प्रति ग्लास ३५ रुपैयामा र मोही प्रति ग्लास १५ रुपैयामा विक्रि भैरहेको व्यापारीहरुको भनाई छ । गर्मी बढेसंगलै मोही पिउँने ग्राहक धेरै आउने गरेको मन्थलीमा संचालित चिरन्जिबी डेरीका संचालनक भानुभक्त श्रेष्ठ बताउछन् । आफ्नो पसलमा मोही पिउँने ग्राहकको विहानैदखी भिड हुने श्रेष्ठको भनाई छ । दैनिक ४ सय भन्दा बढि ग्राहक लस्सी ,मोही , कुल्फी लगाएत चिसो पदार्थ खान आउने गरेको संचालक श्रेष्ठको भनाई छ । मन्थलीमा दुधबाट बन्ने परिकार उत्पादन गर्ने २ वटा डेरी संचालनमा छन् । ती डेरीहरुले मन्थली आसपास र खिम्ती बजारबाट किसानहरुले ल्याएको दुधबाट लस्सी , मोही , दहि लगाएतका परिकारहरु उत्पादन गर्ने गरेका छन् । वहुराष्ट्रिय कम्पनिहरुले उत्पादन गरेका चिसो पेयपदार्थ खानेहरुको संख्या भने घट्दै गएको छ ।