रामेछापको जिल्ला तहमा अब छ वटा मात्र कार्यालय रहने

  • प्रकाशित मिति: सोमबार, जेष्ठ ७ २०७५
  • तामाकोसी खबर

रामेछाप । जेठ ७ गते,
रामेछापको जिल्ला तह अथवा सदरमुकाम मन्थलीमा अब ६ वटा मात्रै कार्यालय रहने भएका छन् । संघद्वारा सञ्चालित ६ वटामात्र जिल्ला कार्यालय रहने संवैधानिक व्यवस्था अनुसार रामेछापको जिल्ला तहमा ६ वटा मात्रै कार्यालय रहने भएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाले संविधान अनुसार संघद्वारा सञ्चालित ६ वटामात्र जिल्ला कार्यालय रहने बताइसकेको छ । मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय मात्र जिल्ला तहमा रहने छन् ।
यस अघि जिल्ला तहबाटै सेवा प्रवाह गरेका २४ भन्दा बढि कार्यालयहरु स्थानीय तह अनुसार गाउँगाउँमा गएका छन् । जिल्ला तहमा रहेका अन्य कार्यालय स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले ती कार्यालय स्थानीय सरकार अन्तर्गत संचालन हुने छन् । ६ वटा कार्यालय बाहेक अन्य कार्यालय स्थानीय तह अन्तर्गत संचालन गर्न गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन समेत दिइसकेको छ । हाललाई जिल्ला मालपोत र जिल्ला नापी कार्यालय जिल्ला तहमा रहेपनि केही समयमा यी २ वटा कार्यालय पनि स्थानीय तहको अधिकारमा जानेछन् । रामेछाप जिल्लामा स्थानीय तह कायम हुनुअघि जिल्ला तहबाट ३० भन्दाबढी कार्यालयहरु संचालनमा थिए ।