रामेछाप । बैशाख ३१ गते
रामेछापको सदरमुकाम मन्थलीमा खोलाले बगाएर वेपत्ता भएकी उष्मा फुयालको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । भिषण बर्षापछि रणजोर खोलमा आएको बाढीले बगाएर सोमबार विहान ६ बजेदेखी वेपत्ता भएकी मन्थली आकाशेकी १८ बर्षकी फुयालको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुले सोमबार दिनभर फुयाललाई बगाएको रणजोर खोलादेखी त्रीवेणी स्थित सुनकोशीसम्म खोजी गरिएपनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए । प्रहरी निरिक्षक थापाका अनुसार अहिले फुयाललाई बगाएको ठाउँ रणजोर खोलामा पुरिएको हुनसक्ने अनुमानले मन्थली नगरपालिकाको स्काभेटर लगाएर खोज्ने कार्य भैरहेको छ ।
वेपत्ता फुयाल मन्थली माविबाट मन्थली नगरपालिका वडा नम्बर ७ भटौलीमा रहेको रुद्राक्षेश्वर मावि परिक्षा केन्द्रमा कक्षा ११ को परिक्षा दिन ६ जना साथीसंगै गएकी थिइन् । उनीसंगै परिक्षा दिन गएका ६ जनालाई पनि खोलाले बगाएको थियो । उनीसँग खोलाले बगाएका अन्य ६ जना छात्राहरुको भने सकुसल उद्दार गरिएको छ । उनीहरु मध्ये तीन जना सामान्य घाइते भएका छन् । बगाएका मध्ये केहीको रणजोर खोला र केहीको तामाकोसी नदीबाट उद्दार गरिएको थियो ।
आइतबार राति १२ बजेपछि परेको भिषणवर्षा पछि आएको बाढी पहिरोले अस्तव्यस्त भएको मन्थली बजारमा अहिले यातायातको साधन संचालन हुन थालेको छ । बजारमा ठाउँठाउँमा जम्मा भएका माटोको ढिस्कालाई स्काभेटरले पन्छाएपछि यातायातका साधनहरु संचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक थापाले बताए ।
मध्यरातदेखी आएको मुशलधारे पानीका कारण बजारमाथि खहरेहरुमा आएको बाढीले बसपार्क क्षेत्रका अधिकाँस घरहरुमा पानी र लेदो माटो पसेको थियो । खहरेमा आएको बाढीले बगाएको माटो र गेगरले बसपार्कमा राखिएका गाडीहरु तथा घरको छेउमा राखिएको मोटरसाइकल तथा ट्रकहरु समेत पुरिएका थिए । प्रहरी निरिक्षक थापाका अनुसार अहिले सडकमा थुप्रीयका माटो तथा ढुंगाको ढिस्कोहरुलाई पन्छाएर एकतर्फी सडक संचालन गरिएको छ ।
खोलाले बगाएर वेपत्ता रामेछाप आकाशेकी उष्मा फुयालको अवस्था अझै अज्ञात
- प्रकाशित मिति: सोमबार, बैशाख ३१ २०७५
- तामाकोसी खबर