रामेछाप । बैशाख १२ गते,
कानुन न्याय तथा संसदिय मामिलामन्त्री शेर बहादुर तामाङले नेपालमा भूकम्पपछिको पुननिर्माणको काम सोचे सोचे जस्तो गतिमा अघि बढ्न नसकेको बताएका छन् । पुननिर्माणको कामलाई अब नयाँ ढंगले अघि बढाउने उनले बताए।
भूकम्प गएको तीन बर्ष पुरा भएको दिन बुधबार प्रेस चैतारी नेपाल रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले निजि आवास निर्माणका कामले गति लिन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले सरकारी कार्यालय र विद्यालयहरुको पुननिर्माण भने केही सन्तोषप्रद रहेको बताए ।
उनले काम भएन भनेर सरकारलाई गाली गर्नुभन्दा पनि आफ्नो घर कसरी छिटो र बलियो बनाउने भन्नेमा भूकम्पपीडितको ध्यान जानुपर्ने बताए । सरकारको मुख ताकेर वस्ने प्रवृत्तिले भवन निर्माण ढिलाई भएको उनको भनाई थियो । 
सबै पीडितलाई अनुदानको दायरामा समेट्नकै लागि सरकाले पटक पटक अनुदान रकम प्रदान गर्ने म्याद थप गरेको उनले बताए । उनले लाभग्राहिलाई गम्भिर भएर पुननिर्माण जुट्न आग्रह गरे ।
रामेछापमा ५० हजार भन्दाबढी घर बन्नुपर्नेमा भूकम्प गएको ३ बर्षमा जम्मा १२ हजार निजि घरहरु बनेका छन् । जिल्लामा करिव ४ सय निर्माण हुनुपर्नेमा एक सय भन्दाबढी विद्यालय भवनको निर्माणको काम नै सुरु हुन सकेको छैन ।
यसै बिच बुधबारनै मन्त्री तामाङले मन्थली नगरपालिकामा रहेको रुद्राक्षेश्वर माविको नवनिर्मित भूमकम्प प्रतिरोधि भवनको उद्घाटन गरेका छन् ।
पुननिर्माणको काम सोचे अनुरुप भएन: कानुन मन्त्री तामाङ
- प्रकाशित मिति: बुधबार, बैशाख १२ २०७५
- तामाकोसी खबर