रामेछाप । चैत ३० गते,
रामेछापको मन्थलीमा जिल्लामा रहेका सहकारी संघ संस्थाहरुको अभिलेख हस्तान्तरण सम्बन्धी स्थानीय तहका पदाधिकारी तथा अधिकृतहरुको लागि आयोजना गरिएको दुई दिने अभिमुखीकरण गोष्ठी शुक्रबार सम्पन्न भएको छ । स्थानीय तहमा रहेका सहकारी संस्थाहरुको हस्तान्तरण गर्नुका साथै स्थानीय तहको भूमिका सहकारीहरुको दर्ता, नविकरण, अनुगमन नियमन जस्ता विषयहरुमा जानकारी गराउने उद्देश्यले डिभिजन सहकारी कार्यालय चरिकोट, दोलखाले अभिमुखीकरणको आयोजना गरेको थियो ।
कार्यक्रममा सहकारी संघ संस्थाहरुको अभिलेख हस्तान्तरण तथा अभिमुखीकरण गोष्ठीमा देशका ३८ वटै डिभिजनहरु खारेज हुन लागेको जानकारी गराइएको थियो । बैशाख मसान्तभित्र सबै सहकारीहरु हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत रामेछापमा रहेका ५ सय १५ वटा सहकारीहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको जानकारी गराइएको थियो ।
नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुलाई आआफ्नो स्थानीय तहमा रहेका सहकारी संस्थाहरुको हस्तान्तरण गरिएको कार्यक्रममा रामेछापका ८ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगाएत सहकारीका क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरुको सहभागीता रहेको थियो । कार्यक्रमका सहभागिहरुले २ दिने गोष्ठीले स्थानीय तहमा रहेको सहकारीहरुको अभिलेख राख्नका लागि आफुहरुलाई सजिलो भएको बताएका छन् । गोष्ठीलाई सहकारी विभागका रजिष्टार केशब प्रसाद रेग्मी, केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र काठमाण्डौका प्राचार्य भरत आचार्य र डिभिजन सहकारी कार्यालय चरिकोट, दोलखाका सहकारी अधिकृत टोपलाल अर्यालले सहजीकरण गरेका थिए ।
रामेछापको मन्थलीमा सहकारी अभिलेख हस्तारण गोष्ठी
- प्रकाशित मिति: शुक्रबार, चैत्र ३० २०७४
- तामाकोसी खबर