काठमाण्डौ । चैत २२ गते,
सरकारले सिन्डिकेटविरुद्ध कडा कदम चालेपछि व्यवसायी झुक्न बाध्य भएका छन् । सरकारले बुधबार काठमाडौं–धुलिखेल रुटमा इजाजत खोलेर नयाँ बस कम्पनीलाई प्रवेश गराएपछि व्यवसायीहरु झुकेका हुन् । कोटेश्वरपूर्व गाडी चलाउन रोकेका १३ वटै समितिले बिहीबारदेखि गाडी चलाउने निधो गरेका छन् । बुधबार मात्रै यो रुटमा गाडी चलाउन ८ वटा कम्पनीले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये साझा र मेट्रो यातायातले बुधबारबाटै धुलिखेलसम्म आफ्नो सेवा सुचारु गरेका छन् । यसअघि बनेपासम्म रुट लिएको मयुरले पनि धुलिखेलसम्मको इजाजत लिएको छ । बनेपासम्म आफ्नो हिसावले गए पनि पनौतीसम्म भने बसहरुलाई प्रहरीले स्कर्टिङ गरेर लगेको थियो ।
यसअघि अरनिको यातायातले मात्रै गाडी चलाउने भने पनि बिहीबारदेखि १३ वटै समितिका गाडी चल्ने व्यवसायीले जनाएका छन् । उनीहरुले अब नेपाल राष्ट्रिय यातायात महासंघकै अगुवाइमा आन्दोलन गर्ने जनाएका छन् । विभागको गएको आइतबारको निर्दे्शिका र कार्य्विधिबारे धारणा बनाउन आउँदो २६ गते महासंघको केन्द्रीय परिषद्को बैठक बोलाइएको महासंघका महासचिव सरोज सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो । यस्तै, यातायात व्यवसायीले गाडीमा गीत बजाएबापत रोयल्टी नतिर्ने बरु गीत बजाइदिएबापत कलाकारहरुबाट पैसा लिने निर्णय गरेका छन् । बुधबार १३ यातायात समितिले यातायात बन्द गरे पनि बिहीबारबाट सबै रुटमा यातायात सञ्चालन हुने हेलम्बु यातायात सेवा समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । बिहीबारबाट बन्द भएका अरनिको, काभ्रे बस, मिनिबस, हेलम्बु, माथिल्लो सगरमाथा, उपत्यकालगायतका यातायात चल्नेछन् ।
सरकारले सिन्डिकेटविरुद्ध कडा कदम चालेपछि व्यवसायी झुक्न बाध्य
- प्रकाशित मिति: बिहिबार, चैत्र २२ २०७४
- तामाकोसी खबर