६१ औँ राष्ट्रिय सहकारी दिवस , रामेछापमा पनि विभिन्न कार्यक्रम गरि मनाइयो

  • प्रकाशित मिति: मंगलबार, चैत्र २० २०७४
  • तामाकोसी खबर

रामेछाप । चैत २० गते,कैलाश खत्री,
रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ खिम्तीमा रहेको जनहित कोष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न कार्यक्रमको आयोजना गरी ६१ औँ राष्ट्रिय सहकारी दिवस मनाएको छ । सहकारी संस्थाका अध्यक्ष मकुन्द प्रसाद कडेँरियाको अध्यक्षतामा भएको कार्यक्रममा लिखु तामाकोशी गाउँपालिकाका प्रमुख गोबिन्द बहादुर खड्काले एक समारोहका बीच उद्घाटन गरे । कार्यक्रममा अन्तर सहकारी स्तरीय हाजिरिजवाफ प्रतियोगिता समेत संचालन भएको थियो । प्रतियोगितामा सुप्रज्ञा बचत तथा ऋण सहकारी संस्था खिम्तीले प्रथम स्थान हासिल गर्दै नगद ३ हजार प्राप्त गरेको छ । त्यसैगरी मनसुन साना किषान कृषि सहकारी संस्था लीमिटेड खिम्तीले दोश्रो स्थान हासिल गर्दै नगद २ हजार ५ सय प्राप्त गरेको छ भने शान्ति समाज बतच तथा ऋण सहकारी संस्था फुलासीले तेस्रो स्थान हासिल गर्दै २ हजार नगद प्राप्त गरेको छ ।
विजयी सहकारी संस्थाहरुलाई कार्यक्रमका प्रमुख अतिथी गाउँपालिकाका प्रमुख गोबिन्द बहादुर खड्का, उपप्रमुख दिपशिखा दाहाल र सहकारीका अध्यक्ष मकुन्द प्रसाद कडेँरियाले नगद र प्रमाणपत्र प्रदान गरी नगद र प्रमाणपत्रले पुरस्कृत गरेका थिए । कार्यक्रममा गाउँपालिका प्रमुख÷उपप्रमुख सहित लिखु गाउँपालिकाका ७ वटा वडाका वडा अध्यक्ष र मन्थली नगरपालिका १२ र १३ का वडा अध्यक्षलाई सहकारी संस्थाका तर्फबाट सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो । सहकारीकै सहयोगमा व्यवसाय संचालन गरेका व्यवसायिहरुलाई नगद १ हजार सहित प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष मकुन्द प्रसाद कडेँरियाले जानकारी दिए । कार्यक्रममा सहकारीका कार्यक्षेत्रभित्र पर्ने एकल महिलाहरुलाई महिला तथा बालबालिका कार्यालयकी प्रमुख सत्यदेवि अधिकारी र मानव अधिकारको लागि एकल महिला समुह रामेछापकी संस्थापक अध्यक्ष प्रमिला सापकोटाले रातो टिका र रातै पोषाक प्रदान गरेका थिए ।
यता रामेछाप सदरमुकाम मन्थलीमा पनि विभिन्न कार्यमक्रमको आयोजना गरी सहककारी दिवस मनाइएको छ । बिहान देवकोटा चोकबाट बसपार्कसम्म र्याली निकालिएको थियो । र्यालीमा सदरमुकाम मन्थलीमा रहेका सहकारी संघ संस्थाहरुको सहभागिता रहेको थियो । मन्थलीको सामुदायिक सभाहलमा एक कार्यक्रमको समेत आयोजना गरिएको थियो । जिल्ला सहकारी संघ रामेछापका कार्य वहाक अध्यक्ष हिमाल ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले पानसमा बक्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछाने , पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल लगाएतका व्यक्तिहरुले बोलेका थिए ।