एकता प्रक्रिया टुंगो लगाउन वाम एकता संयोजन समितिको बैठक बस्दै

  • प्रकाशित मिति: मंगलबार, चैत्र २० २०७४
  • तामाकोसी खबर

काठमाडौं । चैत २० गते,
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक मंगलबार बस्दैछ । दुई दलबीचको एकता प्रक्रियाका बाँकी विषय टुंगो लगाउने उद्देश्यका साथ बैठक बस्न लागेको हो ।



एकता संयोजन समितिका सदस्यहरुबीच अधिकांश विषयमा सहमति जुटिसकेको छ । तर एकताको संख्या अनुपात, ‘जनयुद्ध’ शब्द र चुनाव चिह्नमा समान धारणा निर्माण हुन भने बाँकी रहेको छ । बैठकमा यिनै विषयमा छलफल गरी सहमतिको प्रयास हुने बताइएको छ । गत फागुन १० गतेको एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नो तर्फबाट प्रतिवेदन तयार गरिसकेको छ । मंगलबारको बैठकबाट प्रतिवेदन पारित गर्ने तयारी भएको छ । एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् । त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् । एकता संयोजन समितिले निर्णय गरेपछि आगामी वैशाख ९ गतेभित्र एकता घोषणा गर्ने तयारी दुई दलले गरेका छन् ।