रामेछाप । चैत १७ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ४ सालुमा जेष्ठ नागरिकका लागि एक दिने स्वास्थ्य परिक्षण शिबिर संचालन भएको छ । मन्थली नगर स्वास्थ्य शाखाले आयोजना गरेको सो शिविरमा ६४ जना महिला र २६ जना पुरुष गरी ९० जना जेष्ठ नागरिकहरुले स्वास्थ्य परिक्षण गराएको मन्थली नगर स्वास्थ्य शाखाका प्रमुम केशवराज फुयालले जानकारी दिए । शिविरमा दिशा , पिसाव र रगत परिक्षणको समेत व्यवस्था गरिएको थियो । मन्थली नगर स्वास्थ्य शाखाका प्रमुम फुयालका अनुसरमा शिविरमा स्वास्थ्य परिक्षण गराएका अधिकांस जेष्ठ नागरिकहरुमा उच्च रक्तचाप, मधुमेह ,ग्याष्ट्रीक र आँखाको समस्या पाइएको छ । 
स्वास्थ्य परिक्षण पछि विभिन्न समस्या देखीएका जेष्ठ नागरिकहरुलाई आवश्यकता अनुसारको औषधी उपचारको उपलव्ध गराइएको मन्थली नगर स्वास्थ्य शाखाका प्रमुम फुयालको भनाई छ । शिविरमा ८८ बर्षिय जेष्ठ नागरिक सिद्धिमान बज्रचार्यले समेत आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा डा. राजेन्द्र भण्डारी नेत्तृत्वमा स्वास्थ्य कर्मीहरु दिपक कार्की, रामप्रसाद प्रसाई, समिता रिमाल सहित सालु स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मीहरुले उपचार सेवा दिएका थिए । गाउँमानै डाक्टर सहितको स्वास्थ्य कर्मीको टोली आएर वृद्ध अवस्थामा स्वास्थ्य परिक्षण गरेकोे भन्दै जेष्ठ नागरिकहरु खुसी भएका छन् ।
यस बर्ष मन्थली नगरपालिकाले नगरभित्रका नागरिकहरु रोगले पिडित भएर नबसुन भनेर घरदैलोमा गएर विरामी चेकजाच औषध उपचार गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । यता नगरका प्रमुख रमेश कुमार बस्नेतले स्वास्थ्य क्षेत्र र स्वास्थ्य कर्मीलाई बजेटको अभाव हुन नदिने भन्दै घर घरमा गएर स्वास्थ्य परिक्षण तथा औषधी उपचारको व्यवस्था मिलाउन स्वास्थ्य कर्मीहरुलाई आग्रह गरेका थिए । यता शनिबार मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानी गाउँमा रहेको स्वास्थ्य चौकीमा संचालन भएको स्वास्थ्य परिक्षण शिविरमा २ सय ७० जना स्थानीयहरुले स्वास्थ्य परिक्षण गरी औषध उपचार सेवा पाएका छन् ।
रामेछापको सालु र सुनारपानीमा स्वास्थ्य परिक्षण शिविर
- प्रकाशित मिति: शनिबार, चैत्र १७ २०७४
- तामाकोसी खबर