माघ २९,काठमाडौ – विश्व क्रिकेट लिग डिभिजन टूमा केन्यालाई नेपालले ३ विकेटले हराएको छ । जितका लागि नेपालले अन्तिम ओभरसम्म संघर्ष गर्नुपरेको थियो ।
नेपालको ब्याटिङलाई उकासेका रोहित पौडेल ८६ बलमा ४७ रन बनाएर आउट भए । नेपालका पारस खड्का ४२ रन बनाएर आउट भए । अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ रन चाहिएको थियो । १ बलमा २ रन चाहिएको अवस्थामा सोमपालले २ रन लिएर नेपाललाई जिताए । यस्तै शरद भेषावकर १९, दिपेन्द्रसिंह ऐरी १, ज्ञानेन्द्र मल्ल ८ रन बनाएर आउट भएका थिए ।
यसअघि टस हारेर पहिला व्याटिङ गरेको केन्याले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । केन्यालाई १ सय ७७ को मध्यम स्कोरमा रोक्न सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिए । विश्व क्रिकेट लिग डिभिजन टु मा १४ विकेटसहित सन्दिप सबैभन्दा धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । प्रतियोगितामा अहिलेसम्म खेलेका ४ मध्ये ३ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ ।