प्रदेशसभाको ऐतिहासिक बैठक बुधबारदेखि सुरु, ३ नम्बर प्रदेशका सांसदले के भने ?

  • प्रकाशित मिति: शुक्रबार, माघ १९ २०७४
  • तामाकोसी खबर

काठमाडौं, माघ १८ – प्रदेशसभाको ऐतिहासिक बैठक बुधबारदेखि सुरु भएको छ । प्रदेश नम्बर ३ को बैठक आज हेटौंडामा बसेको हो । बैठकले प्रदेशसभाको सभामुखको लागि आउँदो २७ गते चुनाव गर्ने निर्णय गरेको छ । बैठकमा प्रदेश नम्बर ३ बाट प्रतिनिधित्व गर्ने ७ वटै दलका एक एक जना सांसदले सम्बोधन गरेका छन् ।



बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेकी सांसद अष्टलक्ष्मी शाक्यले नेपालले नयाँ अध्यास सुरु गरेको र यसै अभ्यासको सहाराले देशलाई सम्बृद्ध बनाउनुपर्ने बताउनुभयो । ३ नम्बर प्रदेश प्राकृतिक स्रोतसाधनले भरिपूर्ण रहेको भन्दै उहाँले अब यसको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

यस्तै बैठकमा माओवादी केन्द्रका सांसद शालिकराम जमरकट्टेलले  धेरै लडाई र बलिदानपछि आजको दिन आएको भन्दै आजको दिन सम्बृद्धि र विकासको सुरुवात हुने दिन भएको बताउनुभयो ।

यस्तै नेपाली कांग्रेसका सांसद इन्द्र बानियाँले नेपाली कांग्रेसका नेताहरुको योगदानलाई प्रदेशसभा बैठकले सधैं सम्झनुपर्ने भन्दै अस्थायी सदरमुकाम हेटौंडा तोकेकोमा सरकारलाई धन्यवाद पनि दिनुभयो ।

यस्तै विवेकशील साझा पार्टीका रमेश पौडेल  आफ्नो पार्टी संसदमा सबैभन्दा कान्छो पार्टी भएकाले राम्रा कुरा अरु पार्टीबाट सिक्ने तर नराम्रा कुराको बिरोध गर्ने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र गोसाँइले प्रदेश नम्बर ३ को संसद विकास र सम्बृद्धिसँगै राष्ट्रिय एकता र देशको सीमा रक्षाको लागि तयार हुनुपर्ने बताउनुभयो । उहाँले भारतको मिचाह प्रवृतिबिरुद्ध सबै सांसद चनाखो हुनुपर्ने बताउनुभयो । अहिले देश संघीयतामा जाँदा पौडी खेल्न नजानेको बालक पोखरीमा हाम फालेको जस्तो भएको भन्दै यसलाई सफल ढंगले अघि बढाउनुपर्ने सांसद गोसाँइको जोड छ ।

संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै राप्रपा प्रजातान्त्रिककी सांसद रीना गुरुङले धेरैजनाले संघीयता भारी पर्छ कि भनेर आशंका गरेको र यसलाई सफलतापूर्वक कार्यान्यन गरेरै छाड्ने बताउनुभयो । उहाँले विगतमा केन्द्रीय संसदमा कुटाकुट भएका जस्ता घटना दोहोरिन नदिनेमा पनि सबै सचेत हुनुपर्ने बताउनुभयो ।

यस्तै राप्रपाकी रीता माझी र नयाँ शक्तिका प्रेम तामाङले पनि प्रदेश नम्बर ३ लाई नमुना प्रदेश बनाउन सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।