सिन्धुलीमा हावाबाट ३५ किलोवाट विद्युत् उत्पादन

  • प्रकाशित मिति: शनिबार, माघ १३ २०७४
  • तामाकोसी खबर

सिन्धुली । माघ १३ गते,
सिन्धुलीमा हावाबाट बिजुली उत्पादन भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ मा अहिले हावाबाट सफलरुपमा विद्युत् उत्पादन गरिएको हो ।त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्यप्रणालीले गाउँलाई उज्यालो बनाइरहेका छन् । यसलाई ‘चिसापानी वायु तथा सौर्य्मिश्रित मिनि ग्रिन्ड परियोजना’ नाम दिइएको छ । यसबाट ३५ किलोवाट विद्युत् उत्पादन भइरहेको जिल्ला समन्वय समिति सिन्धुलीका वातावरणीय अधिकृत सन्दीप उपाध्यायले जानकारी दिए ।नेपाल सरकार जनसंख्या तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, एसियाली विकास बैंक र दक्षिण एसिया उपक्षेत्रीयको आर्थिक सहयोगमा वायु तथा सौर्य्मिश्रित प्रणालीबाट विद्युत् उत्पादन गर्ने परियोजना सम्पन्न भइसकेको छ ।
नेपाल सरकार तथा एसियाली विकास बैंकको रु एक करोड ७२ लाख ५८ हजार ७५६ सहयोग, उपभोक्ता, हरिहरपुरगढी गाउँपालिका र जिल्ला समन्वय समिति सिन्धुलीको लागत रु १७ लाख ४० हजार ७ गरी कुल रु एक करोड ८९ लाख ९८ हजार ७७३ मा परियोजना सम्पन्न भएको वातावरणीय अधिकृत उपाध्यायले जानकारी दिए ।
परियोजनाको कुल क्षमतामध्ये १५ किलोवाट सौर्य र २० किलोवाट वायु गरी ३५ किलोवाट विद्युत् नियमित उत्पादन भइरहेको छ । बिहान १० बजेपछि वायुको कम चाप हुँदा विद्युत् उत्पादनमा केही कमी हुने हुँदा बिहान १० बजेपछि सौर्यप्रणालीबाट ब्याट्री चार्ज हुने र रातको समयमा सौर्यप्रणाली निस्क्रिय भइ हावाबाटमात्र ब्याट्री चार्ज हुने भएकाले यी दुवै मिश्रित प्रणालीबाट त्यस क्षेत्रका उपभोक्तालाई निरन्तर विद्युत् वितरण हुने उनको भनाइ छ ।
अहिलेसम्मकै नेपालमा पहिलोपटक वायु र सौर्यप्रणालीबाट एकै स्थानमा विद्युत् उत्पादन गरिएको उनले बताए ।हाबाबाट बिजुली उत्पादन गर्ने लक्ष्यअनुरुप देशका विभिन्न स्थानमा विद्युत् उत्पादन गर्ने कार्य भइरहे पनि सिन्धुलीमा अहिलेसम्मकै सबैभन्दा बढी क्षमताको विद्युत् उत्पादन भएको हो ।