रामेछापमा फलेको हलुवावेदको जाम र जेली

  • प्रकाशित मिति: मंगलबार, माघ २ २०७४
  • तामाकोसी खबर

रामेछाप । माघ २ गते,कैलाश खत्री,
यसअघिका बर्षमा केह आफै खाने र केहि आफन्तहरुलाई दिएर सकिने देवीटारको हलुवावेद यो बर्ष भने जाम बनेर बजारमा आउने भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नं १३ फुलासी देविटार फाँटमा सयँौ बोटमा फलेको हलुवावेद यो बर्ष भने आम्दानीको स्रोत बन्न पुगेको छ । घरेलु तथा साना उद्योग विकास समिति रामेछाप र सुनौलो साना किसान कृषि सहकारी संस्था फुलासीले १० दिने उद्योमशिलता तालिम र ७ दिने जाम जेली बनाउने सिप विकास तालिम दिएपछि देवीटारका स्थानीयहरुले हलुवावेदवाट जाम र जेली बनाएका छन् ।
२० हजारको लगानी गरी उनीहरुले बर्षेनी त्यतिकै खेर जाने हलुवा वेदलाई जाम र जेरी बनाई नगदमा विक्रि गर्ने भएका हुन् । यो बर्ष करिव २० हजार मेट्रिकटन हलुवावेद फलेको स्थानीय कृषकहरुले बताएका छन् । उनीहरुले १ सय ५० बोतल जाम बनाएका छन् भने १० लिटर जुस र तीन बोतल जेली बनाएको सुनौला साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णु प्रसाद काफ्लेले जानकारी दिए । मंगलबार एक कार्यक्रमको आयोजान गरी तालिम समापन गरिएको छ ।
मन्थली नगरपालिकाका उपप्रमुख माया कुमारी कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उदोग विकास अधिकृत राजेन्द्र कुमार श्रेष्ठ , उद्योग कार्यालयका लेखा अधिकृत रमेश थापा, उद्यम विकास सहजकर्ता चन्द्र बहादुर खाती , स्थानीय केशव चन्द्र भण्डारी , बिदुर चौहान , तालिमका प्रशिक्षक वेद बहादुर बानिया लगाएतले बोलेका थिए । कार्यक्रममा बोल्दै नगर उपप्रमुख माया कार्कीले देवीटारमा खेर गैरहेको हलुवावेदलाई जाम जेली बनाएर स्थानीयहरले उदारहणिय काम गरेकोमा धन्यवाद दिईन् ।
आगामि दिनमा नगरपालिकाले घरेलु तथा साना उद्योगको वृद्धि विकासमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने उनले बताईन् । त्यसैगरी उद्योग अधिकृत श्रेष्ठले देवीटारमा बनेको हलुवावेदको जाम जेली प्रत्यक होटेल बजारमा बिस्तार हुनुपर्ने बताए । कार्यक्रममा २० जना तालिमका सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।