पौष ३, काठमान्डौ । एभरेस्ट प्रिमियर लिग ९इपिएल० क्रिकेट प्रतियोगिताको सोमबारदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने इपिएलको उद्घाटन खेलमा काठमाडौं किंग्स इलेभेन र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ।
इपिएलले आइतबार पत्रकार सम्मेलनमार्तफ सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। पत्रकार सम्मेलनमा प्रतियोगिताको विजेतालाई प्रदान गरिने ट्रफि समेत सार्वजनिक गरिएको छ। १२ दिन चल्ने लिगमा १९ खेल हुनेछन् । लिगमा ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ । इपिएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन्। लिग चरणमा प्रत्येक टिमले एकआपसमा खेल्नेछन्। लिगमा शीर्ष हुने दुई टिमबीच पहिलो क्वालिफायर हुनेछ। जित हात पार्ने टिम फाइनलमा पुग्नेछ। हार्ने टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।
लिगमा तेस्रो र चौथो हुने टिमबीच एलिमिनेटर हुनेछ। जित हात पर्ने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ। इपिएलका लागि खेलाडी अक्सन मार्फत प्रत्येक टिमले १०–१० खेलाडी आफ्नो टिममा भित्र्याएका थिए । प्रत्येक टिमले ३–३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्टमार्फट छनोट गरेका छन्। त्रिवी मैदान कीर्तिपुरमा गएर खेल हेर्न चहाने दर्शकका लागि साधारण टिकटको मूल्य एक सय तथा विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ। इपिएलले सबै आइएमइ सेन्टरबाट टिकट किन्न सकिने जनाएको छ। मैदानमै एलइडी स्कृनबाट पनि खेल हेर्ने सकिने र थर्ड अम्पायरको व्यवस्था गरिएको छ। विजेता टोलीलाई २१ लाख पुरस्कार प्रदान गरिनेछ। यो नेपालमा सञ्चालन हुने क्रिकेट प्रतियोगितामध्ये सर्वाधिक राशिको पुरस्कार हो।
