दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उत्साहजनक उम्मेदवारी, केहि ठाउँमा छिटपुट घटना

  • प्रकाशित मिति: सोमबार, असार ५ २०७४
  • तामाकोसी खबर

काठमाण्डौ । असार ५ गते,
छिटपुट घटनाबाहेक स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आइतबार सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टीको विरोधका कारण उम्मेदवारी दर्तामा प्रभाव पर्ने आशंका थियो । तर विरोधले कुनै पनि स्थानमा उम्मेदवारी दर्ता रोकिएन । निर्वाचन आयोगले पनि मनोनयन शान्तिपूर्ण भएको जनाएको छ । ‘३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन पत्र दर्ता कार्य राजनीतिक दलहरूको सहभागितामा शान्तिपूर्ण रूपमा भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । ‘राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारले मर्या्दित तथा व्यवस्थित तरिकाबाट निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका गराएको उनको भनाई छ ।
राजपाले केही स्थानमा सामान्य अवरोध र्पुयाउन खोजे पनि उक्त दल समर्थित कार्यकर्ताले नै रूपन्देहीलगायत स्थानमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । रूपन्देहीको सम्मरीमाई, कोटहीमाई र मर्चवारीमाईका सबै पदमा उनीहरूको स्वतन्त्र उम्मेदवारी परेको हो । बिहान ८ बजेदेखि झाँकी र जुलुससहित उम्मेदवारहरू निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेका थिए । साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुने क्रममा बाजुरा, कपिलवस्तु, दार्चुला र बाँकेका केही स्थानमा अशान्ति देखियो । बाजुरामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा एकको मृत्यु भएको छ । स्थानीय छेडेदह गाउँपालिकामा मनोनयन दर्ता गर्ने क्रममा झडप हुँदा एमालेका हंसबहादुर रावतको मृत्यु भएको हो । दुवै पक्षका करिब ३० जना घाइते भएका छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय अघि बम विस्फोट भयो । विस्फोटमा परी ५ जना घाइते भए । कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानल उम्मेदवारी दर्ता गर्न आउने समयमा विस्फोट भएको थियो । तर विस्फोटको असर उम्मेदवारी दर्तामा परेन । बाँकेको वैजनाथमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भयो । एमालेको सभा नजिकै माओवादी केन्द्रका कार्यकर्ता आएर चर्को माइकिङ गरेपछि झडप भएको हो । त्यहाँ एमालेका ५ कार्यकर्ता, एक सई र एक जवान घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै दार्चुलाको लटिनाथमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । मार्मा गाउँपालिकाको उम्मेदवारी दर्ता गरेर फर्किने क्रममा लटिनाथमा एमाले र माओवादीबीच ढुंगा हानाहान भएको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।
यसैबिच असार १४ मा तीनवटा प्रदेशमा हुन लागेको दोस्रो चरणको चुनावका लागि विभिन्न स्थानमा दलहरूबीच तालमेल पनि भएको छ । सत्तागठबन्धनमा रहेका कांग्रेस र माओवादीले धेरै स्थानमा तालमेल गरेका छन् । प्रदेश नम्बर १ को एक मात्र महानगर विराटनगरमा एमाले र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले मेयर र उपमेयरमा तालमेल गरी उम्मेदवारी दिएका छन् ।
त्यहाँ संघीय समाजवादी फोरम र माओवादी केन्द्रबीच पनि तालमेल भएको छ भने कांग्रेस एकल प्रतिस्पर्धामा उत्रिएको छ । बुटवल उपमहानगरमा कांग्रेस, माओवादी र राष्ट्रिय जनमुक्ति पार्टीबीच तालमेल भएको छ । कांग्रेसले मेयर, माओवादीले उपमेयर र राष्ट्रिय जनमुक्तिले वडामा मिलेर संयुक्त उम्मेदवारी दिएका छन् । रूपन्देहीकै तिलोत्तमामा कांग्रेस र जनमुक्ति, देवदहमा कांग्रेस र माओवादीबीच तालमेल भएको छ । ताप्लेजुङ, अर्घाखाँचीमा पनि कांग्रेस र माओवादीबीच तालमेल भएको छ ।