बैशाख १६, रामेछाप ।
पार्टीले गरेको टिकट वितरण प्रक्रिया प्रति असहमति जनाउँदै रामेछापमा काँग्रेसका नेताहरुले पार्टी परित्याग गरेका छन् । यसरी पार्टी परित्याग गर्नेहरुमा जिल्ला तहका नेताहरु समेत रहेका छन् । पार्टी परित्याग गर्नेमा काँग्रसकी जिल्ला कमिटी सदस्य रमा दाहाल, रामेछाप नगरकमिटीका अध्यक्ष कमलबिक्रम कार्की, गोकुलगंगा गाउँपालिका नेता तेजबहादुर कार्की लगायत रहेका छन् ।
रामेछाप नगपरालिकाको उपप्रमुखको दावि गरेकी रमा दाहाललाई पार्टीले टिकट नदिए पछि काँग्रस परित्याग गरेकी हुन् । रामेछाप नगरपालिकामा काँग्रेसले उपप्रमुखमा सिर्जना खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रामेछाप नगरपालिकामा उपप्रमुखमा दाहाल र खड्का बाहेक एञ्जिला न्यौपानेको पनि दावि थियो । काँग्रेस परित्याग गरेकी उनी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।

उता गोकुलगंगा गाउँपालिकामा प्रमुखको दावि गरेका चुचुरेका तेजबहादुर कार्कीले पनि काँग्रेस परित्याग गरेको घोषणा गरेका छन् । उनले शुक्रबार फेसबुकमा एक स्टाटस हाल्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । काँग्रेसले सो गाउँपालिकामा बिहिबार मात्रै नानीबाबु बस्नेतलाई प्रमुखको उम्मेदवार बनाउने घोषणा गरेको थियो ।
कार्कीले नेपाली काँग्रेसको राजनीतिबाट विश्राम लिएको अवस्था भन्दै २०३६ साल देखिको विद्यार्थी राजनीतिबाट २०७४ सालसम्म आइपुग्दा पार्टीको सबैखाले गतिविधि हेर्दा पूर्णमण्डले प्रवृत्ति तर्फ उन्मुख भएको बताएका छन् । त्यसैले आजकै मितिदेखि नेपाली काङ्ग्रेसको सकृय राजनीतिबाट अलग भएको उनले घोषणा गरेका छन् । अबको बाटो पुर्ण समाजसेवा तर्फ लाग्ने पनि उनले बताएका छन् । काँग्रेस पार्टीमा धेरै पसिना परेको हँुदा मर्ने वखत निष्ठावान इमान्दर नेताबाट नेपाली काङ्ग्रेसको झण्डासम्म ओढाइ दिन पनि उनले आग्रह गरेका छन् ।
यसै गरी नेपाली काँग्रेसको रामेछाप नगरपालिकाका नगर अध्यक्ष कमलबिक्रम कार्कीले पनि पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले रामेछाप नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार घोषणा भए लगत्तै पार्टी परित्यागको घोषणा गरेका हुन् । आपूmले अहिलेसम्म निष्ठाको राजनीति गरेको बताउँदै कार्कीले आपूm अबै कुनै पनि राजनीतिक दलमा संलग्न नभई स्वतन्त्र रुपमा बस्ने बताएका छन् । कार्कीले रामेछाप नगपालिकाको वडाबाट टीकटको अपेक्षा गरेका थिए । स्थानीय तह निर्वाचनमा आकाँक्षिहरुको संख्या अघिक रहेको कारण काँग्रेसलाई कार्यकर्ता व्यवस्थापनमा निक्कै समस्या बढेको छ ।