रामेछापमा ईन्टरनेट सेवा ठप्प, सेवाग्राही मारमा

  • प्रकाशित मिति: मंगलबार, चैत्र २२ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत २२ गते,
रामेछाप जिल्लामा नेपाल टेलिकमको ईन्टरनेट सेवा ठप्प हुँदा सेवाग्रहीहरु मारमा परेका छन् । मंगलबार टेलिकमको ईन्टरनेटसेवा  बिहान १० बजेदेखी ठप्प हुँदा जिल्लामा संचालित सञ्चार माध्ययम लगाएत महत्वपुर्ण सेवाग्राही प्रत्यक्ष मारमा परेका छन् ।
नेट नहुँदा महत्वपुर्ण शन्देशरु आदान प्रदान गर्नमा समस्या भएको जिल्लामा संचालित सञ्चार माध्यमहरुले जनाएका छन् । नेपाल टेलिकम शखा रामेछापले भने रामेछापमा देखिएको ईन्टरनेट समस्या जिल्लामा नभै केन्द्रमै भएको जनाएको छ । देशका अन्य भागमा ईन्टरनेटमा समस्या नभएपनि रामेछापमा भने ल्याण्डलाईन फोन र ईन्टरनेट बन्दनै भएको टेलीकम शाखा रामेछापले जनाएको छ ।
टेलिकमको ट्रान्समिशनमा समस्या आएका कारणले ईन्टरनेट र ल्याण्डलाई फोनमा समस्या आएको नेपाल टेलिकम शाखा रामेछापका प्रमुख  बिष्णु प्रसाद भण्डारीले जानकारी दिए । उनले काभ्रेको बनेपामा रहेको अप्टीकल फाईबर स्टिममा समस्या आएकाले मर्मत गर्ने कार्य जारी रहेको बताए । विभिन्न चाडवाडका समयमा स्पेसल प्याकेज ल्याउने टेलिकमको नियमित सेवाको गुणस्तर भने दिनदिनै खस्कदै गएको सेवाग्रहीहरुको भनाई छ । प्याकेज ल्याएर नागरिकको आँखामा छारो हाल्नुभन्दा नियमित दिने सेवाको गुणस्थर बढाउनका लागि नेपाल टेलिकम लाग्नुपर्ने सेवाग्राहीको भनाई छ ।
रामेछापको टेलीफोन सेवामा समस्या आएको तीन महिना भन्दा बढी भई सकेको छ । ल्याण्डलाईन फोन पटक पटक बन्द हुने । एउटा नम्बरमा फोन गर्दा अर्कैकोमा जाने, फोन गर्दा इङ्गेज टोन देखाए कतै पनि फोन नलाग्ने समस्या छ । त्यस्तै टेलीकमले सञ्चालन गरेको एडिएसएल इन्टरनेट सेवा दिनमै कयौँपटक कट्ने तथा अति ढिलो चल्ने समस्या सेवा सुरु गरेदेखिनै हुँदै आएको छ । पछिल्लो सयमा रामेछापमा टेलीकमको मोवाइल सेवामा समेत समस्या देखिएको छ । मोवाइल फोनमा कुरा गरेको नबुझिने, मोवाइलमा फोन नलाग्ने तथा पटक पटक कट्ने समस्याले उपभोक्ताहरु हैरान भएका छन् ।