मन्थलीमा एकदिने व्यवसायीक कुखुरा पालन तालिम

  • प्रकाशित मिति: शनिबार, चैत्र ५ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत ५ गते,
रामेछापको सदरमुकाम मन्थलीमा एकदिने व्यवसायीक कुखुरा पालन तालिम शनिबार सम्पन्न भएको छ । निशा भटेनरी मन्थली रामेछापले आयोजना गरेको तालिममा रामेछाप जिल्लाको विभिन्न ठाउँमा व्यवसायिक कुखुरा पालन गरिरहेका ६५ जना व्यवसायीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । कुखुरा पालनलाई व्यवस्थित बनाउनका लागि आवश्यक प्राविधिक ज्ञान दिने उद्देश्यले आयोजित तालिममा जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक महेश देउबन्जार र निशा भेटेनरीका संचालक एवं पशु प्राविधिक टंक श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
तालिमका सहभागिहरुले कुखुरा पालन गर्दा देखिने विभिन्न समस्याहरुका बारेमा जिज्ञासा राखेका थिए । उनिहरुले आफुहरुलाई प्राविधिक ज्ञानको कमि भएका कारण कुखुरा पालन व्यवसायवाट सोचेअनुरुपको मुनाफा लिन नसकेको बताए । तालिमका प्रशिक्षक एवं पशु चिकित्सक महेश देउबन्जारले कुखुरा पालनका समयमा खोर तयारी देखि बेच्ने बेला सम्ममा ध्यान दिनुपर्ने प्राविधिक कुराहरुका बारेमा जानकारी दिएका थिए ।
उनले कुखुरा पाल्नु भन्दा पहिले व्यवसायीहरुले सामान्य भएपनि प्राविधिक ज्ञान लिन आवश्यक भएको बताए । तालिमको आयोजक निशा भेटेनरीका संचालक टंक श्रेष्ठले जिल्लाका बिभिन्न ठाउँमा कुखुरा पालन गर्ने व्यवसायीहरुलाई कुखुरा पालन सम्बन्धि प्राविधिक ज्ञानको आवश्यकता महशुस गरेर आफुहरुले तालिमको आयोजना गरेको बताए । उनले प्राविधिक ज्ञानको कमिका कारण निकै जोखिमता मोलेर कुखुरा पालन गरिरहेका व्यवसायीहरुलाई सहयोग पुग्ने विश्वास लिए ।