रामेछाप कारागारमा  सेनाको गोली लागेर ३ कैदीबन्दीको मृत्यु

  • प्रकाशित मिति: बिहिबार, भाद्र २६ २०८२
  • तामाकोशी

रामेछाप — रामेछाप जिल्ला कारागारका कैदीबन्दीले बिहीबार बिहान सामूहिक रूपमा भाग्ने प्रयास गर्दा सेनाले गोली चलाउनुपरेको छ। गोली लागेर घाइते भएका मध्ये ३ जनाको मृत्यु भएको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सेनाले चलाएको गोली लागेर १३ जना कैदीबन्दी घाइते भएका थिए। घाइतेमध्ये रामेछाप अस्पतालमा उपचारका क्रममा २ जनाको मृत्यु भइसकेको र थप एक जनाको मृत्यु भएको भन्ने खबर आएको तर औपचारिक पुष्टि हुन बाँकी रहेको उनले बताए।



“कैदीबन्दीहरूले कारागारभित्रका सबै ताला फोडेर बाहिर निस्कने क्रममा मुख्य गेटको ताला समेत तोड्न खोजे। त्यसपछि सेनाले गोली चलायो,” प्रजिअ थापाले भने।

रामेछाप नगरपालिका–८ डाँडामा अवस्थित जिल्ला कारागारमा हाल ३०० भन्दा बढी कैदीबन्दी रहेका छन्। सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारागारलाई नियन्त्रणमा लिएपछि अहिले अवस्था शान्त रहेको प्रहरीले जनाएको छ।

हालै देशभरका विभिन्न कारागारमा कैदीबन्दी भाग्ने घटना बढिरहेका बेला रामेछाप तुलनात्मक रूपमा शान्त रहेको भनिएको थियो। तर बिहीबार बिहान यहाँका कैदीबन्दीले पनि सामूहिक भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मीलाई गोली चलाउन बाध्य हुनुपरेको हो।