रामेछापको नागदहमा मध्य दिउँसो सुन लुट्ने युवक पक्राउ

  • प्रकाशित मिति: आइतबार, भाद्र १६ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–५ नागदहमा एक वृद्धाको कानको सुन लुटेको आरोपमा सोही स्थानका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गत साउन ३० गते दिउँसो लिखुतामाकोशी गाउँपालिका–५ नागदह पिपल दिपकी ६० वर्षकी सुन्तलीमै तामाङको घाँटीमा समाती आँखामा खुर्सानीको धुलो हालेर दुवै कानमा लगाएको साढे एक तोलाको सुनको रिङ लुटेको आरोपमा लिखुतामाकोशी गाउँपालिका सोही वडा स्थित आहाल डाँडाका १९ वर्षका चन्द्र घिसिङलाई प्रहरीले पक्राउ गरेको हो ।



वडा कार्यालयमा एकल महिला भत्ता कार्ड नवीकरण गरी आफ्नो घर तर्फ फर्कने क्रममा स्थानीय आइरन खोलामा घाइते हुने गरी सुन लुट्ने घिसिङलाई शनिवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेका घिसिङले आफूले सो सुन लुटपाट गरेको स्वीकार गरेको र निजको शरीर खानतलासी गर्दा उक्त सुन समेत बरामद भएको छ। घिसिङलाई रामेछाप जिल्ला अदालतबाट डाँका मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक न्यौपानेले बताउनुभयो ।