रामेछाप । रामेछापको रामेछाप नगरपालिका–३ साघुटारमा आगलागीमा परी एक जान घाइते भएका छन् भने ७ वटा घर–मतान जलेर नष्ट भएको छ । श्री कालीका देवी ईश्वरी सामुदायिक वनमा लागेको आगो ठाडा बस्तीमा सल्किएपछि स्थानीय दुर्गाकुमार श्रेष्ठ सामान्य घाइते हुनुभएको छ भने श्रेष्ठको दुई वटा घर, एउटा मतान र अर्का स्थानीय खड्काबहादुर कुमालको तीन वटा घर, एउटा मतान सहित घरभित्र रहेको अन्न, पात, लत्ताकपडा जलेर नष्ट भएका छन् ।
आगलागीबाट श्रेष्ठको तीन लाख रुपैयाँ नगद, साढे चार तोला सुन, पाँच तोला चाँदी र झन्डै एक दर्जन कुखुरा पनि जलेका छन् । आगलागीबाट छोरालाई पठाउन तयार पारेको ६ लाख रुपैयाँ नगद सहित घरभित्र भएको अन्न पात, लत्ताकपडा कपडा सबै जलेर खरानी भएको स्थानीय कुमालले बताउनु भयो । ६० वर्षका कुमालले भन्नुभयो ‘‘छोरालाई पठाउन ठिक्क पारेको ६ लाख पैसा र घर,मतान जलेर नष्ट भयो । जम्मा गरेको पैसा पठाइ दिऊ भन्दा श्रीमतीले छोरीको विवाहलाई चाहिन्छ भनेर राखिन । आज पैसा सहित तीन वटा घर, एउटा मतान आगोले जलेर खत्तम भयो । यस्तो आपत्तिको घडीमा अब को सङ्ग के भनौँ ।’’ शनिवार मध्यान्ह साढे १२ बजेबाट वनमा लागेको डढेलो नियन्त्रणमा कसैले चासो नदिएको उहाँको गुनासो छ । ‘वनमा डढेलो लागेपछि डिभिजन वन कार्यालय, प्रहरी, वन उपभोक्ता समूह र स्थानीय सरकारसँग नियन्त्रणका लागि हार गुहार गरियो, तर कसैले समयमै आगो निभाउन चासो दिएनन्, आज वन सबै सक्किएपछी आगो गाउँमा सल्कियो उहाँले भन्नुभयो । स्थानीयका अनुसार श्री कालीका देवी ईश्वरी सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
