मतदाता नामावलीमा नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय रामेछापको आग्रह

  • प्रकाशित मिति: शुक्रबार, असार ३० २०७४
  • तामाकोसी खबर

रामेछाप । असार ३० गते,
जिल्ला निर्वाचन कार्यालय रामेछापले प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गदै मतदाता नामावलीमा नाम समाबेश गर्न नाम दर्ता कार्यक्रम संचालन गर्ने भएको छ । निर्वाचन कार्यलयले शुक्रबार मन्थलीमा राजनैतिक दल र पत्रकारहरुसंग छलफल गरि निर्वाचन आयोगको निर्देशन अनुसार साउन १ गतेदेखी १५ गते सम्म यस्तो कार्यक्रम संचलन गर्न लागेको जानकारी दिएको हो । निर्वाचन कार्यालय रामेछापका प्रमुख कपिल प्रसाद उपाध्यायले आयोगको मतदाता नामावलीमा नाम समाबेश नभएका व्यक्तिलाई आफ्नो नागरिकताको प्रमाणपत्र लिएर आफु स्वयम निर्वाचन कार्यालयमा उपस्थित भै नाम दर्ता गराउन आग्रह गरे ।
स्थायी बसोबास भएको जिल्लाको निर्वाचन कार्यालयमा मात्रै नाम दर्ता गराउन पाउने भएकाले रामेछाप बाहेक अन्य जिल्लामा वसोबास गरिरहेको मतदाताहरुलाई पनि आफ्नै जिल्लामा आएर नाम दर्ता गराउन अनुरोध गरे ।
निर्वाचन आयोगको मतदाता नामावलीमा कुनै टुत्री भए सच्याउन, वा नमावलीवाट नाम हटाउन पर्ने भए पनि मतदाताले साउन १ गतेदेखी १५ गते सम्मको समयमा निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने उनको भनाई छ । उनले साउन १६ गतेदेखी २० गते सम्म मतदाता नामावलीमा दावी बिरोध गर्न सकिने बताएका छन् । छोटो समयमा निकैनै महत्वपुर्ण काम सम्पन्न गर्नुपर्ने भएकाले यसमा सहयोग गरिदिन सरोकारवाला सबैलाई उनले आग्रह गरे ।
यता रामेछापका राजनैतिक दलहरुले भने वडा वडामा मतदाता नामावली संकलन गर्नुपर्ने माग गरेका छन् । साउनको बेलामा सबै मतदाताहरु व्यस्त हुने भएकाले निर्वाचन आयोगको निर्णय सच्याउन माग गरे । नेकपा एमालेका जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेलले मतदाताहरुको नाम दर्ता गर्ने र दावि विरोध गर्ने समय छोटो भएको बताए । उनले साउन महिना मतदाताहरु अत्यन्तै व्यस्त हुने महिना भएकाले वडा वडामा मतदाताको नाम दर्ता गर्नुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका अध्यक्ष भरत वाईवाले पनि मतदाताको नाम दर्ता गर्ने कार्यक्रममा गाउँगाउँमा लानुपर्ने बताए । गाउँगाउँमा धेरै मतदाताको निर्वाचन आयोगले यसअघि प्रकाशन गरेको मतदाता नामावलीमा नाम छुटेकाले ति सबैलाई समेट्न कम्तीमा वडा नहमा यो कार्यक्रम लैजानुपर्ने उनको माग छ ।