विद्यालय स्तरमा रामेछाप प्रहरीको सचेतना मूलक कार्यक्रम

  • प्रकाशित मिति: शनिबार, माघ १४ २०७९
  • तामाकोशी

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले विद्यार्थी र शिक्षकलाई लक्षित गरी विद्यालय स्तरमा सचेतना मूलक कार्यक्रम सञ्चालन गरेको छ । प्रहरीले जिल्लाको मन्थली नगरपालिका–७ मा रहेको श्री रुद्राक्षेश्वर माध्यमिक विद्यालय भटौलीका विद्यार्थी र शिक्षकलाई अपराध के हो र अपराधको सूचना, बाल अधिकार, बालबालिका माथि हुने सम्भाव्य हिंसा र हिंसाबाट बच्ने उपायहरू, सडक सुरक्षा र ट्राफिक सङ्केतहरूका बारेमा सचेतनामूलक कार्यक्रम गरेको हो । रुद्राक्षेश्वर मावि बटौलीमा कक्षा ८,९,१०,११ र १२ मा अध्ययनरत विद्यार्थी र शिक्षकहरूलाई शुक्रवार एक दिने कार्यक्रम गरी प्रहरीले यसबारेमा जानकारी गराएको हो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुली र प्रहरी निरीक्षक रञ्जन गिरीले अपराध के हो, अपराधको सूचना, बाल अधिकार, बालबालिका माथि हुने सम्भाव्य हिंसा र हिंसाबाट बच्ने उपायहरू, सडक सुरक्षा, ट्राफिक सङ्केतहरू र सडक दुर्घटना न्यूनीकरणका सम्बन्धमा प्रशिक्षण गर्नुभएको छ । कार्यक्रममा जिल्लामा आत्महत्याको घटना बढ्दै गइरहेको जानकारी गराउँदै आत्महत्याका सम्भावित कारणहरू, आत्महत्याका बारेमा सोच्नेको लक्षण, आत्महत्या रोकथामका उपायहरू र समग्र शिक्षक, अभिभावक र विद्यार्थीको भूमिकाको सम्बन्धमा सचेतना मूलक समाग्रीहरु प्रस्तुत गरी छलफल गरिएको जिल्ला प्रहरी प्रमुख पराजुलीले बताउनुभयो ।