आर्थिक र सामाजिक रुपान्तरणमा खाँडादेवी गाउँपालिका

  • प्रकाशित मिति: बिहिबार, साउन २८ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका आर्थिक र सामाजिक रुपान्तरणमा लागेको छ । गाउँपालिकाभित्र अत्यावश्यक भौतिक संरचनाहरु बनिसकेकाले गाउँपालिकाले यो आर्थिक वर्षदेखी आर्थिक र सामाजिक रुपान्तरणका कार्यक्रमलाई जोड दिएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २२ औं स्थापना दिवसका अवसरमा (फोनिज) रामेछापले गाउँपालिकामा बुधबार आयोजना गरेको उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार २०७८ वितरण तथा चियापान कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले चालु आर्थिक वर्ष २०७८÷०७९ बाट आर्थिक र सामाजिक रुपान्तरणका कार्यक्रमलाई जोड दिएको बताउनुभयो । स्थानीय सरकार बनेको चार वर्षको अवधिमा गाउँपालिकाभित्र सडक लगायतका भौतिक संरचनाहरु बनिसकेका छन्, चालु आर्थिक वर्षमा सडक निर्माणको माग गाउँपालिकामा आएको छैन गाउँपालिका अध्यक्ष तामाङले भन्नुभयो । अध्यक्ष तामाङले यो वर्ष प्रविधि हस्तान्तरण गरी पालिकाभित्रै सेनिटरी प्याड उत्पादन गर्ने, एक विद्यालय एक उद्यम कार्यक्रमलाई प्रवद्र्धन गरी प्रभावकारी ढंगले सञ्चालन गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो । गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले स्थानीय सरकार बनेको चार वर्षमा खाँडादेवी गाउँपालिकमा निकै राम्रा र प्रभावकारी काम भएको बताउनुभयो । यो अवधिमा गाउँपालिकाभित्र भौतिक पूर्वाधार तथा पर्यटन पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायतका क्षेत्रमा प्रयाप्त प्रगती भएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।