स्वास्थ्य  उपकरण सञ्चालन तथा मर्मत सम्भार तालिमको माग

  • प्रकाशित मिति: आइतबार, साउन २४ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लाका स्वास्थ्यकर्मीले स्वास्थ्य सम्बन्धि उपकरण सञ्चालन तथा मर्मत सम्भार सम्बन्धि आधारभूत तालिमको माग गरेका छन् । कोभिड–१९ र्यापिड एक्सन टाक्स फोर्स, भोलेन्टियर सर्भिस इन नेपाल, नेपाल इलेक्ट्रोनिक टेक्निकल रिसर्च सेन्टर, श्रृजनशील युवा समाज लगायतका संस्थाले आयोजना गरेको वायोमेडिकल उपकरण मर्मत सम्भार सम्बन्धि अभिमुखीकरण कार्यक्रममा स्वास्थ्यकर्मीले यस्तो माग गरेका हुन् । मन्थली नगरपालिकाको स्वास्थ्य शाखा संयोजक केशव फुयाँलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पनि स्वास्थ्यकर्मीलाई उपकरण सञ्चालन र संरक्षण सम्बन्धि प्राविधिक ज्ञान आवश्यक देखिएको बताउनुभयो ।
रामेछाप नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख विष्णु कार्कीले स्वाथ्यकर्मीलाई सेवामा प्रवेश गर्दै स्वास्थ्य उपकरण सञ्चालन र सामान्य मर्मत सम्बन्धि तालिम आवश्यक रहेको बताउनुभयो । कतिपय स्वास्थ्यकर्मीलाई अक्सिजनको कन्सर्नटेटरमा कति पानी राख्नु पर्छ भन्ने कुराको ज्ञान समेत छैन, उपकरण मर्मतको सामान्य नलेज भए उपचार गर्न सहज हुने थियो उहाँले भन्नुभयो । जिल्ला अस्पताल रामेछापका अहेव उदय घिसिङले उपकरणको समान्य समस्यामा पनि मर्मत गर्न नसक्दा सेवा प्रवाहमा अप्ठेरो भएको बताउनुभयो । सामान्य कुरा थाहा हुँदा पनि सेवा प्रवाहमा धेरै सजिलो हुने उहाँले बताउनुभयो । स्वास्थ्य चौकी पुरानागाउँका इञ्चार्ज राजकुमार आरण प्रविधि र उपकरणको विकाससँगै त्यसको प्रयोग र सामान्य मर्मतको ज्ञान स्वास्थ्यकर्मीलाई आवश्यक रहेको बताउनुहुन्छ ।
तर यस्ता खालका तालिम अहिलेसम्म स्वास्थ्यकर्मीले नपाएको उहाँले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जीतेन्द्र कर्णले गुणस्तरीय सेवा प्रवाहको लागि स्वास्थ्यकर्मीलाई स्वास्थ्य सम्बन्धि उपकरण सञ्चालन तथा मर्मत सम्भार सम्बन्धि तालिम र ज्ञान आवश्यक रहेको बताउनुभयो । स्वास्थ्यको केन्द्रदेखि नै यस विषयमा ध्यान जानुपर्नेमा उहाँको जोड छ ।