कोरोनाबाट रामेछापमा थप एक जनाको ज्यान गयो

  • प्रकाशित मिति: मंगलबार, असार ८ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापमा कोरोना सङ्क्रमणबाट थप एक जनाको ज्यान गएको छ । यो सँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १८ जना पुगेको छ । रामेछाप नगरपालिका वडा नं ८ की ७५ वर्षिया महिलाको बीर अस्पतालमा उपचारका क्रममा सोमबार ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु भएकी महिलामा गत जेठ १९ गते जिल्ला अस्पतालमा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि जिल्ला अस्पतालको आइसोलेशनमा जेठ २३ गतेसम्म बसेर घरमै बसीरहेको अवस्थामा स्वास्थ्यमा समस्या आएपछि बीर अस्पताल लगिएको थियो । यस्तै, जिल्लामा मङ्गलबार ६ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ७८२ जना पुगेको छ । मङ्गलबार जिल्ला अस्पताल रामेछापबाट दुई जना, मन्थली नगरपालिकाबाट एक जना, रामेछाप नगरपालिकाबाट एक जना, गोकुलगंगा गाउँपालिकाबाट एक जना र लिखुतामाकोशी गाउँपालिकाबाट एक जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै जिल्लामा मङ्गलबार २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा चार जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना, रामेछाप नगरपालिकामा १४ जना, उमाकुण्ड गाउँपालिकामा तीन जना, खाँडादेवी गाउँपालिकामा एक जना, गोकुलगंगा गाउँपालिकामा एक जना, लिखुतामाकोशी गाउँपालिकामा एक जना र तामाकोशी अस्पतालमा एक जनाको एन्टिजेन रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या एक हजार ९७५ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लाबाट २१ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले १७५ जना कोरोनाका संक्रिय संक्रमित छन् ।