रामेछाप । कोरोना भाइरस कोभिड–१९ महामारीको कारण सबै क्षेत्र ठप्प हुँदा पनि जिल्लामा विकासका काम रोकिएका छैनन् । कोरोनाकै बीचमा स्वास्थ्य मापदण्डको पालना गरी जिल्लाका स्थानीय सरकारले विकास निर्माणका काम सञ्चालन गरिरहेका छन् । विश्वभर भैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथाम अनि सङ्क्रमितहरुको उपचार र व्यवस्थापनका लागि सरकारले लगाएको निषेधाज्ञाको समयमा पजि जिल्लाका स्थानीय सरकारले विकासका कामलाई निरन्तरता दिएका हुन् । जिल्लाको सुनापति गाउँपालिकाले पनि निषेधाज्ञाको समयमा विभिन्न विकास आयोजनाहरु सम्पन्न गरेको छ । निषेधाज्ञाको समयमा सुनापति गाउँपालिले अन्य विभिन्न विकास आयोजना सहित वडा नं ४ पानीघाटमा ढुङ्गेधारा निर्माण गरेको छ । कोरोना रोकथामका लागि निषेधाज्ञा भएको समयमा ढुङ्गेधारा निर्माण गरिएको ढुङ्गेधारा निर्माण उपभोक्ता समितिका अध्यक्ष सानोबाबु पाण्डेले बताउनुभयो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत दुई लाख रुपियाँ बजेटमा पानीघाट ढुङ्गेधारा निर्माण गरिएको सुनापति गाउँपालिकाका सब–इन्जिनियर सानोबाबु श्रेष्ठले बताउनुभयो । उहाँले निषेधाज्ञाको समयमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर गाउँपालिकाभित्र विकास निर्माणका काम जारी राखिएको बताउनुभयो । पानीघाट ढुङ्गेधाराको पानी २० घरपरिवारले वर्षभरीनै खानेछन् भने हिउँदमा छिमेकी गाउँले पनि यो ढुङ्गेधाराको पानी खाने छन् ।
कोरोनाले रोकेन विकासको कामलाई
- प्रकाशित मिति: सोमबार, असार ७ २०७८
- तामाकोशी