रामेछाप । रामेछापको दोरम्बा गाउँपालका वडा नं ३ टोकरपुरका किसानमा खुसीयाली आएको छ । वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा अँधेरीखोला–मझुवा–ठूलीबेँसी सिँचाइ कुलो बनेसँगै टोकरपुरका किसानमा खुसीयाली आएको हो । प्रदेश सरकारको एक करोड २२ लाख रुपैँयाको लागतमा कुलो निर्माणको काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कुमार कँडेलले जानकारी दिनुभयो । आयोजना बनेसँगै मझुवा र ठूलीबेँसीको २५ हेक्टर जमिन सिँचित हुने र आयोजनाबाट करिब २ सय घरधुरी लाभान्वित हुनेछन् । कुल १ हजार ५ सय मिटर लामो सो कुलोको ७ सय ५० मिटर लामो ढलान सहितको सिमेन्टवाल निर्माणकार्य निर्माण व्यवासयी मार्फत भएको हो । जसमा १ करोड ५ लाख रुपैँया खर्च भएको छ । यसैगरी कुलोको अप्ठेरो अक्करमा भने पाइप राखिएको छ । पाइप ढुवानी र जडानको काम उपभोक्ता समिति मार्फत भएको हो । जसमा उभोक्ता समितिको १७ लाख रुपैँया खर्च भएको उहाँले बताउनुभयो । यस अघि ठूलीबेसीमा सिँगार्चे खोलाको पानीबाट सिंचाइ हुने गरेको थियो । सो खोलाको पानी हिउँदामा सुक्ने भएपछि हिउँद महिनामा किसानको खेत बाँझै बस्न लागेको थियो । ढोइगाउँ नजिकैको अधेरी खोलमा प्रसस्त पानी भए पनि किसानले स्रोतको अभावमा ल्याउन सकेका थिएनन् । अधेरी खोलाको पानी झरेपछि किसानलाई बाह्रै महिना सिँचाइ सुविधा हुने भएको छ । टोकरपुरको ठूलीबेँसी फाँट रामेछाप जिल्लाको धान उत्पादन हुने ठूला फाँट मध्येको प्रमुख फाँट हो । उत्पादनको हिसाबले पनि यो फाँटलाई अब्बल मानिन्छ ।
सिँचाइ कुलो बनेपछि टोकरपुरका किसानमा खुसीयाली
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ २१ २०७८
- तामाकोशी