दोलखा २७ जेष्ठ।जिल्ला अदालत दोलखाले हत्या मुद्दाका अभियुक्तहरुलाई आश्चर्यजनक ढंगले साधारण तारेखमा छाडेको छ । जिल्ला अदालतले शुक्रबार अभियुक्तलाई साथ दिई साधरण तारेखमा छाडन आदेश दिएको हो ।
गत वैशाख २६ गते दोलखाको गौरीशंकर गाउपालिका १ जुंगु निवासी कुलबहादुर तामाङ्गलार्इ हत्या गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले माओवादी केन्द्रकी नेतृ एवं पूर्वराज्य मन्त्री देवी खड्कासहित ४० जनाविरुद्ध अदालतमा ज्यान मुद्दा चलाएको थियो ।
त्यसमा ३ दिनसम्म भएको लामो सुनुवाई पछि न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले सबै अभियुक्तहरुलाइ तारेखमा रिहा गर्ने आदेश दिएको हो । पीडित पक्षले उक्त आदेशले आफूहरुमाथि झन् पीडा थपेको भन्दै पुनरावेदनका लागि लागिपर्ने बताएका छन् । अदालतबाट अन्यायपूर्ण आदेश आएकाले माथिल्लो तह गुहारिने पीडित परिवारका एक सदस्यले बताए ।
चुनाव अघि माओवादी नेताहरु देवी खड्का, विशाल खड्का, विमर्शराज कार्कीसहितको टोलीले हतियार प्रयोग गरी तामाङ्गको हत्या गरेको आरोप सहित मुद्दा परेको थियो । घट्नापछि ९ जना पक्राउ गरेका थिए भने नेताहरु भने फरार छन् । पक्राउ पर्नेमा एन्डिज काकी, सुरेश कार्की, रमेश कार्की, मिलन जिरेल, साङदोर्जे शेर्पा, प्रेम तामाङ, निमा भन्ने बादल तामाङ, प्रेम बहादुर तामाङ, रहेका थिए । कुलबहादुरको हत्यामा संलग्न रहेका पूर्वराज्यमन्त्री खडकासहित अन्य फरार रहेका थिए ।
अदालतले रिहा आदेश दिएपछि पीडित परिवारको किटानी जाहेरी र प्रहरी अनुसन्धानबाट कर्तब्य गरी हत्या गरेको प्रमाणित भएका अभियुक्त सवैले उन्मुक्ति पाएका हुन । हत्याका अभियुक्त सवैलाई साधरण तारेखमा राख्ने आदेश संभवन यो नै पहिलो पटक हुन सक्ने अनुमान गरिएको छ ।
हत्यापछि माओवादी नेता देवीसहित विशाल खड्का, गंगा कार्की, ढाल बहादुर खड्का, कृष्णमाया कार्की, विश्वास कार्की, बसन्त कार्की, विमर्स कार्की, अर्जुन श्रेष्ठ, रोशन कार्की, पुष्कर अधिकारी, सुव्वा श्रेष्ठ जितबहादुर जिरेल र विष्णु पाख्रिन रहेका छन । यस्तै प्रकाश बहादुर खड्का, दिपेन्द्र खड्का, कर्ण बहादुर कार्की, राजकुमार कार्की, सुर्य बहादुर कार्की, दिवश कार्की, विरध्वज खड्का, टीका बहादुर खड्का, शुक्रदेव कार्की, सुनिल कार्की, टहल बहादुर केसी, प्रेम बहादुर खत्री, सविन खड्का, गोकुल कार्की, बलराम खड्का, भरत खड्का र विक्रम जिरेल हत्यापछि फरार रहेका छन ।
जन्मकैदको मुद्दामा प्रतिवादीलाई बोलाउदा पनि नबोलाई रिहा गरेकोप्रति कानुनव्यवसायी प्रोणप्रताप केसीले आश्चर्य जनाए । ‘यो आदेशको माथिल्लो तहमा पुनरावलोकन हुनुपर्छ,’ उनले प्रतिक्रिया दिए ।
स्थानीय तह निर्वाचनको क्रममा गत बैशाख २६ गते दोलखाको गौरीशंकर गाउँपालिका वडा नं १ निवासी कुलबहादुर तामाङलाई जुगुको रेशमडाँडामा माओवादी नेतृ देवी खडकासहितका माओवादी नेता कार्यकर्ताले चारैतिरबाट घेरा हाली समातेर भाला रोपी हत्या गरेका थिए ।
स्थानीय लक्ष्मण जिरेलको होटलमा खाना खाने तयारी गरिरहेको बेला खडका नेतृत्वमा आएको माओवादी आततायी समुहले हवाई फायर, बिष्फोट गराएप्छि भागेका तामाङलाई नजिकै रहेको निलकण्ठेश्वर उच्चमाविको प्रांगणमा लगेर भाला रोपिएको थियो । माओवादी समुहको लगातारको भाला प्रहारबाट भुईमा ढलेका तामाङको आवाज बन्द गर्न उनको मुखमा इटा कोचिएको थियो ।
तामाङको क्रुरतापूर्वक हत्यापछि फरार रहेका माओवादी नेताहरुले पीडितका परिवारलाई मार्ने धम्की दिएको, मृतकका छोराछोरी बिद्यालयसमेत जान नसकेको र गाउँमा बस्न असुरक्षित भएपछि मृतकका परिवार सदरमुकाम आएको जानकारी दिई एमाले नेताहरुले अभियुक्तलाई जोगाउने र पीडितलाई न्याय नदिने गम्भीर षडयन्त्र देखिएको भन्दै छानविन गरी न्याय दिलाउन मानव अधिकार आयोगमा समेत निवेदन परिसकेको छ ।
@ जनता टाइम्स

