सिन्धुली, २६ जेष्ठ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका स्थित भालुखोला भन्ने ठाउमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना यात्रु घाईते भएका छन् । मृत्यु हुनेमा दोलखाको वैत्यश्वर गाउँपालिका ७ साविक नाम्दु गाविस वडा नम्वर ६ घर भएका सुमो चालक २४ वर्षीय रामहरी दास रहेका छन् ।
काठमाडौंबाट रामेछापका लागि छुटेको ना १ च ४९३५ नम्बरको टाटा सुमो शुक्रबार दिउँसो सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्वर ७ भालुखोला स्थित सुनकोशी नदीको बगरमा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परि रामेछापका एकै परिवार ३ जना र दोलखाका २ जना घाईते भएका छन् । सुमोमा सवार रामेछापको खाँडादेवि गाउँपालिका ८ साविक गागल भदौरे गाविस ९ का युवराज खड्का, उनकी श्रीमती राधिका खड्का र ६ महिनाकी छोरी रोशना खड्का घाईते भएका हुन् ।
दुर्घटनामा परि दोलखाको तामाकोशी गाउँपालिका ३ जफेकी ५३ वर्षीया गंगादेवि महत र उनका नाती ९ वर्षीय सुदर्शन महत तथा नुवाकोटको विदुर नगरपालिका २ का २२ वर्षीय विशाल तामाङ पनि घाईते भएका छन् । सुमो तिव्र गतिमा रहेका कारण दुर्घटना भएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवासचन्द्र बोहराले जानकारी दिनुभयो । घाईते सबैको सिन्धुलीकै सुनकोशी अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको डिएसपी बोहराले बताउनुभयो ।
फोटोः फेसवुक फाइलबाट
