१३ जना कैदीबन्दीको कैद सजाय मिनाहा

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन ७ २०७७
  • तामाकोशी

रामेछाप । फागुन ७ गते ,
जिल्ला कारागार रामेछापबाट १३ जना कैदीबन्दी जेलमुक्त भएका छन् । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रदान गरेको कैद सजाय माफीमा परेकालाई बाँकि कैद मिनाहा गरि कैदमुक्त गरिएको जिल्ला कारागारले जनाएको छ । कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका १२ जना र असल चालचलन भएका १ जना वृद्धलाई कारागार कार्यालयले गरेको सिफारिसको आधारमा कैद मुक्त गरिएको कारागार कार्यालय रामेछापकी सूचना अधिकारी भगवती खड्का कार्कीले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्धामा चारजना, सवारी ज्यान मुद्धामा छ जना , लागु औषध मुद्धामा ६७ वर्षिय एक जना वृद्ध , ज्यान सम्बन्धि कसूरमा एक जना र चोरी सम्बन्धि कुसूरमा एक जनालाई जेलमुक्त गरिएको छ सूचना अधिकारी खड्काले भन्नुभयो । सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो । २०० जना कैदीबन्दीको क्षेमता रहेको जिल्ला कारागारमा अहिले ३३५ जना कैदीबन्दी रहेका छन् । कारागारमा क्षेमता भन्दा बढी कैदीबन्दी हुँदा खानेपानी , विद्युत , ढल र खाद्यान्नको समेत व्यवस्थापन गर्न समस्या भैरहेको जिल्ला कारागार कार्यालय रामेछापले जनाएको छ ।