रामेछाप । पौष ७ गते ,
रामेछापको गोकुलगंगा गाउँपालिकामा दुई हजार रोपनी बढी क्षेत्रफलमा अहिले किवीखेती विस्तार भएको छ । चारवटा व्यवसायीक नर्सरीको स्थापना भएका छन् । ३० वटा आधुनिक बाख्रापालन फार्म सञ्चालन भैरहेका छन् । आलुको पकेट क्षेत्र कार्यक्रम सुरु भैरहेको छ । लसुन, प्याज, विभिन्न जातका गेडागुडी तथा तरकारीको व्यवसायीक खेती सुरु भएको छ । गाउँपालिकाले कृषिमा समृद्धि खोज्नका लागि चौँरी पालन व्यवसायलाई पनि थप व्यवस्थित बनाउदै लगेको छ । पलिकाभित्र आवश्यक सम्भाव्यता अध्ययन गरी चिया खेतीलाई पनि विस्तार गरिरहेकोे छ । कृषिबाटै समृद्धि खोज्नका लागि गाउँपालिका अध्यक्ष खड्ग सुनुवार आफै पनि व्यवसायीक कृषिमा संलग्न हुनुहुन्छ । अध्यक्ष सुनुवारले किवी तथा चियाको व्यवसायीक खेती सुरु गर्नुभएको छ ।
जसबाट उहाँले राम्रो आम्दानी लिरहनु भएको छ । कृषि कर्म राम्रोसङ्ग बुझेर व्यवसायी कृषिबाट लागेकाले यसबाट राम्रो आम्दानी भैरहेको अध्यक्ष सुनुवारले बताउनुभयो । गोकुलगंगा गाउँपालिकाको समृद्धि कृषि र जलविद्युतबाट सम्भव छ , जलविद्युतमा ठूलो लगानी आवश्यक पर्छ तर कृषि सानो लगानीबाट पनि सुरु गर्न सकिन्छ अध्यक्ष सुनुवारले भन्नुभयो । पर्याप्त पानीको स्रोत र उब्जाउयोग्य जमीन भएको सो गाउँपालिकामा व्यवसायीक फलफूल, तरकारी, आलु तथा नगदेवालीका साथै जडिबुटीको व्यवसायीक खेतीको राम्रो सम्भावना रहेको छ । यसैलाई ध्यानमा राखेर गाउँपालिकाले कृषि क्षेत्रको लागि बजेट पनि राम्रो विनियोजन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७⁄०७८ मा ७ करोड ५० लाख रुपैँया कृषि क्षेत्रमा अनुदानका लागि छुट्याएको छ । यसले कृषकालाई व्यवसायीक बन्न थप उत्साहित गरेको छ ।